काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिंकबीच सम्झौता

गोर्खाजले एक्सट्रिम इनर्जीसँग ड्रिंक पार्टनरको रुपमा सम्झौता गरेको हो ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhas and Extreme Energy Drink sign agreement

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि एक्सट्रिम इनर्जी ड्रिंकसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जीसँग ड्रिंक पार्टनरको रुपमा सम्झौता गरेको हो ।

एनपीएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिंकबीच यसका लागि सम्झौता भएको छ । काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जी ड्रिंकका महाप्रबन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवैले आर्थिक पक्ष भने खुलाएका छैनन् । 

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रायोजक बिना एनपीएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउँदै एक्सट्रिम इनर्जी ड्रिंकको साथमा आर्थिक हिसाबमा मात्र नभई सहयोग र साथका हिसाबमा पनि आफ्नो टोलीको मनोबल बढ्ने बताए । महाप्रबन्धक श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमान्डु गोर्खाज हुँदै नेपाल प्रिमियर लिगको हिस्सा हुन लागेको जनाए । 

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ । 

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरुमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् । टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेललाई लिइसकेको छ ।

कान्तिपुर

Link copied successfully