एन्फा प्रेसिडेन्ट लिग : विजय स्पोर्ट्स र लालीगुराँसको पहिलो जित

लिग अन्तर्गत आइतबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा कास्कीको लालीगुराँस क्लबले बर्दियाको जनजागृति युवा क्लबलाई ४–० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४–१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो।

कार्तिक २३, २०८२

प्रताप विष्ट

ANFA President's League: Vijay Sports and Laligurans win first

What you should know

हेटौंडा — कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेका छन् ।

लिग अन्तर्गत आइतबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा कास्कीको लालीगुराँस क्लबले बर्दियाको जनजागृति युवा क्लबलाई ४–० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४–१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। 

लालीगुराँसका लागि आशिष गुरुङले हृयाट्रिक गरे। उनले खेलको १३ औं, ९० औं र ९३ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे। लालीगुराँसका थप एक गोल खेलको ४८ औं मिनेटमा यमबहादुर श्रेष्ठ गरे। प्लेयर अफ दि म्याच लालीगुराँसका लागि हृयाट्रिक पूरा गरेका गुरुङ घोषित भए। 

लिगमा दोस्रो खेल खेलेको लालीगुराँस पहिलो खेलमा बुधबार कैलालीको विजय स्पोर्ट्ससंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। लिगमा ३ खेल खेलेको जनजागृतिले दोस्रो हार बेहोरेको छ। जागृति यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३–१ गोलले पराजित भएको थियो भने आइतबार सुर्खेतको काँक्रेविहारसँग १–१ गोलको बराबरी खेलेको थियो। 

आइतबार भएको दोस्रो खेलमा विजय स्पोर्ट्सका लागि निराज चौधरी नायक बने । उनले खेलको १२ औं, १४ औं र ८६ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे। खेलको ४७ औं मिनेटमा अरोन थापाले थप एक गोल गरे। देउरालीका लागि खेलको २५ औं मिनेटमा उज्वल राईले एक गोल फर्काए। प्लेयर अफ दि म्याच हृयाट्रिक पूरा गर्ने चौधरी घोषित भए। 

लिगमा ३ खेल खेलेको विजय स्पोर्टस्‌ले पहिलो जीत निकालेको हो। विजय स्पोर्ट्सले २ खेल बराबरी खेलेको थियो। विजय स्पोर्ट्स शुक्रबार लालीगुराँस एसोसिएसनसँग गोलरहित र शुक्रबार काठमाडौंको चित्लाङ एफसीसँग १–१ गोललेको बराबरी खेलेको थियो। समान ३ खेल खेलेको देउरालीले दोस्रो हार बेहोरेको हो। देउराली पहिलो खेलमा बुधबार चित्लाङसँग ४–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतिलाई ३–१ गोलले हराएको थियो।

लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully