शनिबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा दोलखाको टाइगर्स टिमलाई ५–२ गोलले हराउँदै हैरान्सले लिगमा पहिलो जित निकालेको हो।
What you should know
हेटौंडा — हैरान्स क्लब (तनहुँले) एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। शनिबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा दोलखाको टाइगर्स टिमलाई ५–२ गोलले हराउँदै हैरान्सले लिगमा पहिलो जित निकालेको हो।
हैरान्सका लागि रोशन दोङले खेलको २५ औं र ३२ औं मिनेटमा गोल गरे। यस्तै,समिराज थोकरले ४८ औं,विश्व लामाले ४९ औं र अनिष महर्जनले ८८ औं मिनेटमा गोल गरे। टाइगर्सका लागि विशेष लामाले ६२ औं र ६६ औं मिनेटमा २ गोल गरे। प्लेयर अफ दि म्याच हैरान्सका रोशन दोङ घोषित भए।
लिगमा दोस्रो खेल खेलेको हैरान्स बिहीबार सुर्खेतको काँक्रेविहार युथ क्लबसँग ३–२ गोलले पराजित भएको थियो। लिगमा समान २ खेल खेलेको टाइगर्सले भने पहिलो हार बेहोरेको हो। यसअघि बिहीबार नै भएको खेलमा टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोलले हराएको थियो।
शनिबारको पहिलो खेलमा सुर्खेतको काँक्रेविहार युथ क्लब र बर्दियाको जन जागृति युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। काँक्रेविहारका लागि आशिष चापागाईंले खेलको ३८ औं र जागृतिका लागि राजन न्यौपानेले ४६ औं मिनेटमा गोल फर्काए। प्लेयर अफ दि म्याच काँक्रेविहारका सरिन जिसी घोषित भए।
लिगमा समान २–२ खेल खेलेको जागृतिले लिगमा जित निकाल्न सकेको छैन। जागृति यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३–१ गोलले पराजित भएको थियो। काँक्रेविहारले भने बिहीबार तनहुँको हैरान्स क्लबलाई ३–२ गोलले हराउँदै पहिलो जित निकालेको थियो। लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
