सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा ट्रफी टुर गरेको थियो ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ट्रफी टुर सम्पन्न गरेको छ ।
सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा ट्रफी टुर गरेको थियो । दुई दिन चलेको ट्रफी टुर खड्कचोकबाट सुरु भई चिसापानी पुल, लम्कीचोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै पहिलो दिन महेन्द्रनगरमा टुंगिएको थियो ।
दोस्रो दिन शनिबार ट्रफी टुर धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु भई चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी सकिएको थियो । शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफी अनावरण गरेका थिए ।
ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा, ब्रान्ड एम्बासडर तेक्वान्दोका दीपक विष्ट तथा खेलाडी नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए ।
ट्रफी टुरका क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति दिएका थिए ।
सुदूरपश्चिमको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हरमित सिंह र जोस ब्राउन छन् ।
