दसौं राष्ट्रिय खेलकुद : कर्णालीमा पूर्वाधार तयारी अवस्थामै

प्रतियोगिता सञ्चालन हुने मुख्य स्थल कर्णाली प्रदेश रंगशालाको झण्डै ९९ प्रतिशत काम पूरा भएको छ भने सुर्खेतमै चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ ।

कार्तिक २२, २०८२

कृष्णप्रसाद गौतम

10th National Games: Infrastructure in Karnali is in the process of preparation

What you should know

सुर्खेत — कर्णाली प्रदेशमा आयोजना हुने दसौं दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा पूर्वाधार तयारी अवस्थामा छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । 

प्रतियोगिता सञ्चालनको मुख्य स्थल प्रदेश रंगशालाको झण्डै ९९ प्रतिशत काम पूरा भएको छ भने सुर्खेतमै चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ ।

जिल्लास्तरका कवर्ड हलहरु पनि सामान्य रंगरोगन र सरसफाइ गरे पुग्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । राखेप बोर्ड बैठकले नयाँ मिति घोषणा गरेसँगै खेलाडीहरु उत्साही भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘हामी त अहिल्यै प्रतियोगिता तोकिए पनि तयारी अवस्थामै छौं,’ उनले भने, ‘प्रदेश राजधानीमा प्रदेश रंगशालासहितका संरचना तयार छन्, जिल्लातिरका संरचना पनि सामान्य मर्मत र सरसफाइ गरे पुग्छ ।’

यसअघि चारपल्ट मिति सारेर फागुन १ देखि प्रतियोगिता तय गरिएको हो । प्रतियोगिताको तयारीका लागि तत्कालीन संघीय सरकारले ११ वटा उपसमिति समेत गठन गरेको थियो भने वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला परिसरमा दसौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक समितिको सचिवालय उद्घाटन गरिएको थियो ।    

मन्त्रालयका अनुसार अब प्रदेश रंगशालामा सरसफाइका काम मात्र बाँकी छन् । झण्डै एक अर्ब ५९ करोड रुपैयाँको लगानीमा रंगशालाको ९९ प्रतिशत काम सकिएको सामाजिक विकासमन्त्री भण्डारीले बताए । कर्णाली सरकारले राष्ट्रिय प्रतियोगिताका ३५ मध्ये २४ खेल कर्णालीमा खेलाउने तयारी गरेको छ । त्यसमध्ये झण्डै १० हजार दर्शक अट्ने प्रदेश रंगशालामा फुटबलसहित १६ वटा खेल खेलाइने प्रदेश सरकारको योजना छ । 

हुम्लामा हक्की मैदान तथा दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानमा रहेका कवर्डहलमा पनि केही खेल खेलाउनेगरी प्रदेश सरकारले तयारी गरेको सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले बताए । ‘राष्ट्रिय खेलकुदका लागि पूर्वाधारसहित बसोबास, स्वास्थ्य, सुरक्षा र स्थानीय यातायातको व्यवस्थापन अहिले पनि तयारी अवस्थामै छन्,’ उनले भने, ‘प्रदेश राजधानी वीरेन्द्रनगरका होटलहरुमा दैनिक ३ हजार ५ सय हाराहारी खेलाडीको बसोबास व्यवस्थापनका लागि पनि हामी तयारी अवस्थामा छौं ।’

उनका अनुसार प्रदेश सरकारले झण्डै २५ करोडको लगानीमा राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सडकलगायतका अन्य पूर्वाधार विकासका कामहरु पनि गरिसकेको छ । प्रतियोगिताका लागि गत आर्थिक वर्षको बजेटमा संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । 

राखेप बोर्ड बैठकले गरेको निर्णय अब परिवर्तन हुन नहुने तेक्वान्दो प्रशिक्षक भुवन थापाले बताए । ‘पटकपटक मिति सर्दा खेलाडीहरु निरास भएका थिए, बन्द प्रशिक्षणमा रहेका खेलाडी पनि बाहिर निकालिए,’ उनले भने, ‘कर्णालीको प्रतिष्ठासँग जोडिएको विषय भएकाले अब समयमै प्रतियोगिता सञ्चालन हुनुपर्छ ।’

भलिबल खेलाडी ज्ञानु चन्दले राखेप बोर्ड बैठकको निर्णयसँगै आफूहरुले राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास खेलहरु सुचारु गरेको बताए । ‘हामी पहिले पनि तयारी नै थियौं, फेरि पनि उत्साह बढेको छ,’ उनले भने, ‘फेरि ग्रामीण क्षेत्रमा खेल गतिविधिले निरन्तरता पाउन थालेका छन् ।’ प्रदेश सरकारले आयोजक प्रदेशका तर्फबाट गर्नुपर्ने तयारीलाई फेरि तीव्रता दिन जरुरी रहेको उनी बताउँछन् ।    

अरु संरचना तयारी अवस्थामा भए पनि कर्णाली प्रदेश खेलकुद विकास परिषद् अहिले नेतृत्वविहीन छ । 
कर्णालीमा सत्ता साझेदार दल एमाले र कांग्रेस बीच भागबन्डाको विषयमा कुरा नमिल्दा परिषद् गठनमा ढिलाइ भएको हो । परिषद् गत वर्ष पुस ६ गतेदेखि पदाधिकारीविहीन बनेको थियो ।

सामाजिक विकास मन्त्रालयले गत जेठ १४ गते प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिका लागि नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्का र कर्णाली प्रदेश फुटबल संघका पूर्व सचिव गणेशकुमार कार्कीलाई विज्ञ सदस्यको रुपमा नियुक्त गरेको छ ।

तर भागबन्डामा कुरा नमिल्दा मन्त्रालयका सचिवको नेतृत्वमा गठित समिति निष्त्रिय बनेको एक सदस्यले बताए । परिषद् अहिले पदेन पदाधिकारीको भरमा छ भने सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई दैनिक कार्यसञ्चालनको जिम्मेवारी दिइएको छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully