सन्नी पटेल काठमान्डु गोर्खाजमा

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षीय पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेटमा निकै लोकप्रिय छवि बनाएका अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ । योसँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ । 

काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चार्ल्सवर्थ र जोन सिम्पसनलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ । इरसमस बाहेक अन्य सबैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् ।

पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए । डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षीय पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए । च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए । उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ । 

‘सन्नी एटलान्टा फायरको एक महत्त्वपूर्ण हिस्सा रहेका थिए । मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,’ मोन्टीले भने, ‘उनी बल र ब्याट दुवैमा उच्च योगदान दिन सक्छन् । मेजर लिग क्रिकेटमा खेलेको उनको अनुभव गोर्खाजका लागि अमूल्य बन्न सक्छ । गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउदा हामी उत्साहित रहेका छौं । उनको बहुमुखी प्रतिभा र व्यावसायीकताले हाम्रो टोलीको सन्तुलनलाई बलियो बनाउने छ ।’

सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्युयोर्कको प्रतिनिधित्व गरेका थिए । सो क्रममा उनले ६ खेल खेलेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully