प्रशिक्षक पौडेलले दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ सम्म भएको कोर्स पूरा गरेका हुन् ।
काठमाडौँ — नेपालका सानुभाइ पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स पास गरेका छन् ।
प्रशिक्षक पौडेलले दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ सम्म भएको कोर्स पूरा गरेका हुन् । यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन खेलाडीलाई प्रशिक्षण दिन योग्य भएका छन् ।
‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुप्रै मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करिब ६ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सलाई व्यवहारिक रूपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ,’ प्रशिक्षक पौडेलले भने ।
सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित ६ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा थिए । उनले लेभल टु कोर्सपछि अब नेपाली ट्रायथलन खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण दिएर अन्तर्राष्ट्रिय सफलता दिलाउन सक्ने नेपाल ट्रायथलन संघको अपेक्षा छ ।
