फुटबलरको विरोध प्रदर्शनमा खेलाडी संघको ऐक्यबद्धता

फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग झन्डै अढाइ वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य भएको संघको ठहर छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Players' union's solidarity with footballers' protests

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार खेल्न पाउनुपर्छ भन्दै फुटबल खेलाडीहरूले एन्फाविरुद्ध गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ ।

फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग झन्डै अढाइ वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य भएको संघको ठहर छ ।

नेपाल फुटबल खेलाडी संघले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिनुनका साथै प्रदर्शन गरेको थियो ।

संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, विगतमा हुने गरेका लिग लगायतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीको जीवन केही सहज भएको थियो । यति लामो समयदेखि ए डिभिजन लिग रोकिँदा सयौं खेलाडी रोजगारीकै लागि देश बाहिरिनुपरेको तथ्य हाम्रोसामु छ । कतिपय व्यावसायिक नभएका खेलका खेलाडीले पनि धेरैले विदेशलाई आफ्नो गन्तव्य बनाएका छन् ।’

खेल आयोजनाका लागि आफ्नै संघविरुद्ध उत्रनुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको जनाउँदै खेलाडी संघले एन्फा नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने र समस्या समाधानका लागि पहल गर्न आवश्यक रहेको बताएको छ ।

संघले चाँडोभन्दा चाँडो समस्या समाधानका गर्दै लिग हुने वातावरण तयार पार्न एन्फालाई आग्रह गरेको छ । फुटबल खेलाडीले आफ्नो हकहितका लागि चलाउने सबै खाले विरोधलगायतका कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ साथ रहने प्रतिवद्धता पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully