सहिद स्मारक ए डिभिजन लिग घोषणा गर्न एन्फालाई फुटबल खेलाडीको एक साताको अल्टिमेटम, आन्दोलन अझै कडा हुने फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको चेतावनी
What you should know
काठमाडौँ — नेपालले एकै पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको छ । यो थियो सन् २०१६ मा । प्रतियोगिता एएफसी सोलिडारिटी कप हो । यो प्रतियोगिताको उपाधि जित्ने नेपाली टिमका कप्तान थिए, विराज महर्जन । नेपाली फुटबलले पाएका एक राम्रा खेलाडीमा उनी पनि पर्छन् । उनी मात्र के ? उनको पूरा महर्जन परिवार नै नेपाली फुटबलमा समर्पित छ भन्दा हुन्छ ।
यिनै विराजले बिहीबार नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको विरोध सभामा भने, ‘यस्तो दिन आउँछ भनेर सोचेको थिइनँ ।’ उनी आफैं सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडि आयोजित विरोध कार्यक्रममा सक्रिय थिए । फेरि खेलाडीको माग कुनै ठूलो थिएन । यत्ति थियो, सहिद स्मारक लिग ‘ए’ डिभिजन हुनुपर्यो । त्यसैले त विराजले भनेका हुन्, यस्तो दिन आउने छ भनेर सोचिएकै थिएन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख पदाधिकारीहरू केही थान बल बाँड्न लाखौं खर्चेर राजधानी बाहिर थिए । त्यसैले विराज मात्र होइनन्, नेपालका लागि भर्खरै सयौं खेल खेलका रोहित चन्द, नेपालका लागि संयुक्त रूपमा सबैभन्दा बढी १३ गोल गरेका अञ्जन विष्टदेखि घरेलु फुटबलका सबैभन्दा सफल गोलरक्षक विशाल श्रेष्ठले राखेका आवाज सुन्ने कोही पदाधिकारी थिएनन् ।
धन्न। एन्फाका प्रवक्ता सुरेश शाहले स्थिति सम्हाल्ने केही प्रयास गरे । तर खेलाडी कहाँ रोकिन्थे र ? हुन् पनि नेपाली फुटबल खेलाडीसामु अहिले नबोले कहिले बोल्ने जस्तो स्थिति थियो । यस्तोमा खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा नेतृत्वलाई एक साताको समय दिएका छन्, पूरा कार्यक्रमसहित ‘ए’ डिभिजन लिग आयोजना घोषणा गर्न । यो अल्टिमेटम पूरा भएन भने खेलाडीकै भाषामा जेसुकै हुनसक्ने छ ।
खेलाडी संघले अघिल्लो दिन नै घोषणा गरिसकेको थियो, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विरोध कार्यक्रम गर्ने भनेर । संयोगले हो वा जानेर नै सही, त्यतिबेला न एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ थिए न त महासचिव किरण राई । दुवै काठमाडौंबाहिर थिए । प्रदर्शनका लागि बिहान ११ बजेदेखि खेलाडी भेला भएका थिए, तर उनीहरू मूल गेटमै रोकिए ।
उनीहरूले एन्फा कम्प्लेक्स प्राङ्गणमा गएर आफ्नो कुरा राख्न माग गरे पनि एन्फाले दिएन । एक घण्टाभन्दा बढी समय बिताएर भित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरे । त्यसैक्रममा अध्यक्ष लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरूको सशक्त विरोध प्रदर्शन कायम राख्ने बताए । ‘हाम्रो माग भनेकै फुटबल गतिविधि हुनुपर्ने भन्ने हो, नेपाली फुटबलमा रहेका बेथिति हट्नुपर्छ भन्ने हो,’ उनले भने ।
खेलाडीहरूले बीचबीचमा ‘एन्फा अझै मस्तीमा, खेलाडीचाहिँ सास्तीमा’, ‘मैदानमा शून्यता, सडक हाम्रो बाध्यता’, ‘एन्फाको आस, खेलाडीको भोकै बास’ र ‘एन्फा भ्रममा नपार, जिउँदै खेलाडी नमार’ नारा लगाएका थिए । अध्यक्ष लामाले थपे, ‘अबका दिनमा हाम्रो संघर्ष अझ कडा हुनेछ । यो त सुरुआत मात्रै हो । खेलाडीको माग सम्बोधन गर्नु नै पर्छ ।’ त्यसबीच पूरा स्थिति गोलरक्षक विकाश कुथुले सही ढंगले सम्हालिरहेका थिए ।
एन्फाले साढे दुई वर्षभन्दा बढी समयदेखि ‘ए’डिभिजन लिग आयोजना गर्न सकेको छैन र यसै क्रममा धेरै फुटबल खेलाडी बेरोजगार भएका छन् । त्यसमध्ये कतिपय विदेशिएका छन् । खेलाडीको चिन्ता त्यसमै थियो । एन्फाको पछिल्लो साधारणसभाले मिति र बजेट नै छुट्याएर ‘ए’ डिभिजन गर्ने निर्णय गरेको थियो । तर एन्फाले सक्दो अनेक बहाना निकालेर लिग नगर्ने दाउ रचिरहेको छ ।
अझ युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रममा ‘ए’ डिभिजन कसरी गर्ने भनेर छलफल भएको थियो । तर, महासचिव राईले एन्फा ‘ए’ डिभिजन आयोजना गर्न नसक्ने बताए र यसको स्थानमा राष्ट्रिय लिग गर्ने घोषणा गरेका थिए । यसपछि भने खेलाडीमा चरम निराशा छाएको थियो । खेलाडीले राष्ट्रिय लिगको आयोजनालाई स्पष्ट अस्वीकार गरेका छन् ।
उनीहरू ‘ए’ डिभिजन हुनुपर्नेमा अडिग छन् । विरोध प्रदर्शनको समापन अझ उनीहरूले बेजोड ढंगले गरे । उनीहरूले आफूले जितेका पदकहरू एन्फा कम्प्लेक्स छिर्ने मूलढोकामै झुन्ड्याए । यसले दिएको सन्देश पनि प्रस्ट छ, एन्फाले अहिले पनि खेलाडीको सुनेन भने नेपाली फुटबलमा भयावह स्थिति आउने छ । आखिरमा खेलाडीले एन्फासमक्ष त्यही मागेका छन्, जुन नेपाली फुटबलको सर्वोच्च संस्थाले गर्नुपर्ने प्रमुख काम थियो, ‘ए’ डिभिजन लिग आयोजना ।
