चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ घोषणा गरेको थियो ।
काठमाडौँ — जनकपुर बोल्ट्सले अभिनेता निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग २ का लागि ‘गुडविल एम्बासडर’ बनाएको छ । चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ घोषणा गरेको थियो ।
उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ड फर भिक्ट्री’ लाई नयाँ उचाइँमा पुर्याएको जनकपुरले जनाएको छ ।
अभिनेता उप्रेतीले आफ्नो उत्साह व्यक्त गर्दै बोल्ट्सको विज्ञप्तिमा भनेका छन्, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरा लागि सम्मानको विषय हो । विजयको आत्मा हरेक नेपालीभित्र छ र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’
जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडरमा स्वागत गर्दा गर्व महसुस गर्छौं ।’
यो साझेदारीले जनकपुर बोल्ट्सलाई केवल खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढाउने अपेक्षा गरिएको छ । ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुरले एनपीएलको तयारी तीव्र बनाइरहेको छ ।
वेस्ट इन्डिजका महान शिवनारायण चन्द्रपालको प्रशिक्षणमा उत्रने जनकपुरले विदेशी खेलाडीमा वायने पार्नेल, श्रीलंकाका अमेरिकी क्रिकेटर लाहिरू मिलान्थालाइ टोलीमा राखिसकेको छ ।
