चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको हो ।
काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपर स्टार एक्सन हिरो निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ ।
यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।
चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको हो । उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री‘ लाई नयाँ उचाइमा पुर्याएको जनकपुरले जनाएको छ ।
निखिल उप्रेतीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो । विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ, र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’
जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देश प्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं ।’
यो साझेदारीले जनकपुर बोल्ट्सले खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढ्ने अपेक्षा गरेको छ ।
