यसअघि नेपालको कमजोर प्रदर्शन सन् २०२२ को डिसेम्बरमा नामिबिया र गत वर्ष सेप्टेम्बरमा क्यानडा भ्रमणमा थियो
काठमाडौँ — नेपालले विश्वकप लिग २ क्रिकेटको एउटा शृंखलामा कुनै अंक जोड्न नसकेर नकारात्मक कीर्तिमान बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा बुधबार भएको खेलमा यूएईसँग ४ विकेटले पराजित भएपछि नेपाल पहिलो पटक लिग २ को एउटा शृंखलामा अंकविहीन हुन पुगेको हो ।
दुबईमा नेपालले अमेरिका र यूएईसँग २–२ खेलमा पराजय भोगेको हो । यसअघि सन् २०२२ को डिसेम्बरमा नामिबिया र गत वर्ष सेप्टेम्बरमा क्यानडा भ्रमणमा नेपालले १–१ अंकमात्र जोड्न सकेको थियो । यो लिग २ को एक शृंखलामा नेपालको सबैभन्दा कमजोर प्रदर्शन थियो ।
तर स्टुवार्ट लको प्रशिक्षणमा रहेको नेपालले यसपल्ट दुबईमा त्योभन्दा पनि कमजोर प्रदर्शन गरेको हो । नेपाल क्रमशः अमेरिकासँग १ सय ६ र ४ विकेट तथा यूएईसँग अघिल्लो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकाले यो शृंखलाका सबै ४ खेल जितेर क्लिन स्विप गर्यो भने यूएईले ४ मध्ये २ खेल जित्यो ।
टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाई २ सय ३९ रन बनाएको थियो । अन्तिम ४ ओभरमा ४६ रन जोड्दै नेपालले यो स्कोर बनाएको हो । कुशल मल्ल ५१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनमा आउट भए । उनी दोस्रो अन्तिम बलमा आउट भएका हुन् । त्यसपछि आएका ललित राजवंशीले खेलको अन्तिम बलमा चौका प्रहार गरे । सन्दीप लामिछाने १० बलमा २ चौकासहित १५ रनमा अविजित रहे ।
नेपालको सुरुआत राम्रो थिएन । कुशल भुर्तेल ९ बलमा २ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले भीम सार्कीसँग दोस्रो विकेटमा ७४ रनको साझेदारी गरेका थिए । आसिफ रनआउट हुनु नेपालको पहिलो दुर्भाग्य बन्यो । आसिफले ४८ बल खेल्दै ४ चौकासहित ३४ रन बनाए । भीम अर्धशतक बनाउन २ रनले चुके । उनले ६८ बलमा ७ चौका प्रहार गर्दै ४८ रन बनाए ।
कप्तान रोहित पौडेलले २ रनमात्र बनाउन सके । यही २ रनले उनी एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ४४ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा रनआउट भएपछि नेपाललाई अर्को धक्का लाग्यो । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
आरिफले ५४ बलमा २ चौकासहित ३० रन बनाए । आरिफ र करण केसीलाई लगातार बलमा आउट गरेर ओपनिङ बलर जुनैद सिद्दिकीले नेपाललाई ठूलो स्कोर बनाउनबाट रोके । सिद्दिकीसहित मोहम्मद जवादुल्लाह र ध्रुव परासरले यूएईबाट २–२ विकेट लिए ।
मोहम्मद शाहदादले ९६ रन बनाएपछि यूएईले ५ बलअगाडि २ सय ४३ रन बनायो । स्कोर बराबर भएको अवस्थामा जाहिर अलीले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरे । प्लेयर अफ द म्याच शाहदादले १ सय २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यूएई विजयभन्दा १६ रन टाढा रहेको अवस्थामा शाहदादलाई करण केसीले विकेटपछाडि क्याच गराए ।
करणले नै पहिलो ओभरमा आर्यांश शर्मालाई आउट गरेर नेपाललाई आशा देखाएका थिए । अर्का ओपनर एवं कप्तान अलिसान सराफु १८ रन बनाई नन्दन यादवको बलमा आउट भए । शोएब खानले ५२ बलमा २९ रन बनाए ।
शाहदाद र पूर्व कप्तान मोहम्मद वासिमले चौथो विकेटमा १ सय ४७ रनको साझेदारी गरेपछि यूएई विजयतर्फ लम्किएको थियो । वासिम ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ७६ रन बनाई सन्दीप लामिछानेको बलमा बोल्ड भए । हर्षित कौशिकले १३ रन बनाए । नेपालबाट करणले ३ विकेट लिए ।
