आग्राका हरिन्द्र पहलमान कुस्तीमा प्रथम

हरिन्द्रले उत्कृष्ट कौशल प्रदर्शन गर्दै हर्दिपलाई निर्धारित समय पूरा नहुँदै पराजित गरेका थिए। कुस्ती विजेता हरिन्द्रलाई मेला आयोजक समितिले नगद ४० हजार पुरस्कार प्रदान गरेका थिए।

कार्तिक २०, २०८२

दीपेन्द्र बडुवाल

Harindra Wahleman from Agra wins first in wrestling

What you should know

भैरहवा — रुपन्देहीको ओमसतिया–५, गौरीमा सञ्चालन गरिएको कुस्ती प्रतियोगितामा बिहीबार भारतको आग्राका हरिन्द्र पहलमान प्रथम भएका छन्। कात्तिक शुल्क पूर्णिमामा आयोजित सतियामाई मेलाको अन्तिम दिन दर्शकको मनोरञ्जनका लागि कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो।

ओमसतिया–५ का वडाध्यक्ष मदनकुमार पोखरेलका अनुसार कुस्तीको फाइनल स्पर्धामा हरिन्द्रले भारतको हरियाणाका हर्दिप पहलमानलाई पराजित गरेका थिए। फाइनल स्पर्धाका लागि १५ मिनेट समय तोकिएको थियो।

हरिन्द्रले उत्कृष्ट कौशल प्रदर्शन गर्दै हर्दिपलाई निर्धारित समय पूरा नहुँदै पराजित गरेका थिए। कुस्ती विजेता हरिन्द्रलाई मेला आयोजक समितिले नगद ४० हजार पुरस्कार प्रदान गरेका थिए।

अपराह्न दोस्रो स्थानका लागि भएको स्पर्धामा भारतको नयाँ दिल्लीका पवन पहलमानले भारतीय शारिक हरिद्वारलाई पराजित गरेका थिए। उनीहरूबीच टक्करका लागि १५ मिनेट समय प्रदान गरिएको थियो।

दुवैले कडा प्रतिस्पर्धा गरिरहेका बेला शारिकको बायाँ खुट्टाको घुँडाको चोट बल्झिएको थियो। त्यसपछि उनले प्रतिस्पर्धा त्यागेका थिए। त्यसपछि आयोजकले पवनलाई विजेता घोषित गरेका थिए। दोस्रो स्थान प्राप्त गरेका पवनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।

मेलास्थलमा तयार गरिएको अखडामा बिहीबार बिहान ८ बजेबाट कुस्ती प्रतियोगिता सुरु भएको थियो। ओमसतियाकै कुस्तीबाज लक्की थापाले पहलमान ल्याउन संयोजन गरेका थिए। कुस्तीमा प्रतिस्पर्धा गर्न भारतको महाराजगन्ज, गोरखपुर, नयाँदिल्ली, हरियाणा र पञ्जाबबाट पहलमान आएका थिए।

मेलास्थलको अखडामा कुस्ती अवलोकनका लागि सर्वसाधारणको भीड लागेको थियो। कुस्ती तराईका जिल्लामा अत्यधिक रुचाइएको खेलमध्ये रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले बताए। ‘प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘कुस्ती मेलाको मुख्य आकर्षण बनेको छ।’

दीपेन्द्र बडुवाल

Link copied successfully