उत्कृष्ट प्रदर्शन गर्दै संकटा सेमिफाइनलमा

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रवीन्द्र सिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।

कार्तिक १९, २०८२

नवराज सुवेदी

Sankata advances to semifinals with excellent performance

झापा — शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपअन्तर्गत तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब काठमाडौंले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । १३ औं मिनेटमा राष्ट्रिय यू–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५ औं मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रि किक र २३ औं मिनेटमा समीक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।

तर, निरन्तर दबाब बनाइरहेको संकटाले २३ औं मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटीक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३० औं मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रि किक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समीक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।

दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रामक बन्यो । ५५ औं मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याइन् । ६१ औं मिनेटमा पूर्णिमा राईले यू–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।

८३ औं मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङ्तेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रवीन्द्र सिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

नवराज

Link copied successfully