नेपालका वर्तमान प्रशिक्षक स्टुवार्ट लसामू अहिले प्रभाकर र मोन्टी बन्नु नपर्ने अवसर छ । यो नकारात्मक कीर्तिमानबाट पन्छन अस्ट्रेलियाली प्रशिक्षक लको प्रशिक्षणमा रहेको नेपालले बुधबार यूएईलाई पराजित गर्नुपर्नेछ ।
काठमाडौँ — भारतका पूर्व अलराउन्डर मनोज प्रभाकर नेपाली क्रिकेटका लागि सबैभन्दा खराब प्रशिक्षकको सूचीमा पर्छन् । किनभने उनको प्रशिक्षणमा नेपालले निकै खराब नतिजाहरू निकालेको थियो ।
सन् २०२२ को अगस्टमा उनी जसरी आए, त्यसरी नै फर्किन ६ महिना पनि लागेन । उनको कार्यकाल ६ महिना पनि टिकेन ।
भारतकै मोन्टी देसाई उपलब्धिका हिसाबले नेपालका सर्वाधिक सफल प्रशिक्षकमा पर्छन् । उनको प्रशिक्षणमा नेपाली टोली विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जितेर सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सोझै पुगेको थियो । यी सबै सफलता नेपालले तीन महिनाको अन्तरमा पाएको थियो ।
उनै मोन्टीको प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । तर, एउटा खास अवसरमा मोन्टीको नाम प्रभाकरसँग जोडिएर आउँछ, नकारात्मक नतिजाका कारण । प्रभाकर प्रशिक्षक हुँदा नेपालले सन् २०२२ को डिसेम्बरमा लिग २ का लागि नामिबिया भ्रमण गरेको थियो ।
नामिबियासँगको पहिलो खेल वर्षाले बीचैमा बिथोलेपछि विन्डहोकमा नेपाली टोली त्यसपछि स्कटल्यान्डसँग ३ विकेट, नामिबियासँग ८६ रन र स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।
यो लिग २ को यस्तो शृंखला थियो, जहाँ नेपालले चारमध्ये कुनै खेल जित्न सकेको थिएन । वर्षाले बिथोलिएको पहिलो खेलबाट आएको १ अंकमै चित्त बुझाएको थियो ।
मोन्टीको प्रशिक्षणमा नेपालले एकपछि अर्को सफलता पाउँदै गयो । तर, २०२४ को सेप्टेम्बरमा क्यानडा भ्रमणका क्रममा मोन्टी र नेपाली टोलीले नसोचेको नतिजा भोग्नुपरेको थियो । लिग २ मा नेपाल क्रमशः क्यानडासँग १०३ रन, ओमानसँग १ विकेट र पुनः क्यानडासँग ५ विकेटले पराजित हुन पुग्यो ।
ओमानसँग अन्तिम खेल वर्षाले पूरै बिथोलिएपछि नेपाल लिग २ को शृंखलामा दोस्रो पटक जितविहीन हुन पुग्यो । वर्षाले बिथोलेको अन्तिम खेलबाट बटुलेको १ अंक नेपाललाई चित्त बुझाउने बाटो बन्यो । सम्भवतः मोन्टीले आफ्नो प्रशिक्षण जीवनमा यो शृंखला कहिल्यै सम्झिने प्रयासमा हुने छैनन् ।
नेपालका वर्तमान प्रशिक्षक स्टुवार्ट लसामू अहिले प्रभाकर र मोन्टी बन्नु नपर्ने अवसर छ । यो नकारात्मक कीर्तिमानबाट पन्छन अस्ट्रेलियाली प्रशिक्षक लको प्रशिक्षणमा रहेको नेपालले बुधबार यूएईलाई पराजित गर्नुपर्नेछ ।
यूएईमा भइरहेको लिग २ मा नेपाल पहिलो ३ खेलमा पराजित भइसकेको छ । अमेरिकाले दुबईमा सम्पन्न लिग २ मा नेपाललाई क्रमशः १०६ रन र ४ विकेटले पराजित गरेको थियो । यी दुई खेलको बीचमा भएको अर्को खेलमा यूएईले नेपालमाथि ५ विकेटले जित पाएको थियो ।
यूएईलाई पराजित गरेमा प्रशिक्षक लको तुलना अघिल्ला दुई प्रशिक्षकसँग हुने छैन । तर यूएईसँग पराजित भएमा नेपाल जितविहीनमात्र होइन, पहिलो पटक अंकविहीन पनि हुनेछ । स्टुवार्ट ल लिग २ को एउटा शृंखलाको इतिहासमा प्रभाकर र मोन्टीभन्दा खराब हुन चाहन्नन् ।
