एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कात्तिक २६ देखि काठमाडौंमा

यसअघि लिगका ९ खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएका थिए । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ का दुई खेल स्थगित गरेको आयोजकले पछि पूरै लिग नै स्थगित गरेको थियो ।

कार्तिक १८, २०८२

अनुप पौडेल

Remaining matches of Everest Women's Volleyball League to be held in Kathmandu from November 11

कास्की — भदौ २३ र २४ को आन्दोलनका कारण स्थगित वात्सल्य एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कात्तिक २६ देखि हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले बाँकी ७ खेल कात्तिक २६ देखि २९ सम्म गरिने मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

लिगको निरन्तरताका लागि आयोजकले नेपाल भलिबल संघसँग स्वीकृति लिइसकेको छ । लिगका बाँकी खेल काठमाडौंमा हुने विज्ञप्तिमा उल्लेख छ । बाँकी खेल सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यसअघि लिगका ९ खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएका थिए । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ का दुई खेल स्थगित गरेको आयोजकले पछि पूरै लिग नै स्थगित गरेको थियो । 

लिगमा ६ फ्रेन्चाइच टिम सहभागी छन् । कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज उपाधि दाबेदार थिए । 

लिगको चौंथो दिनको खेल सकिँदा फाइनल खेल्ने दुई टिमको लगभग टुंगो लागिसकेको थियो । लिगमा ३–३ खेल खेलेका कर्णाली र ललितपुर शीर्ष दुईमा थिए । खेलेका सबै खेल जितेर ९ अंक जोड्दा यी दुई टिमको फाइनल यात्रा पक्काजस्तै थियो । 

लुम्बिनीले ३ खेलबाट २ अंक जोडेको थियो । एक खेल पनि नजितेको पोखरा निन्जाजले एक अंक जोडेको छ । यसो हुँदा लुम्बिनी र पोखराको फाइनल पुग्ने सम्भावना थिएन । ३–३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्समध्ये एउटा टिम फाइनल पुग्ने झिनो गणितीय सम्भावना जीवितै थियो । यसका लागि मधेशलेले लिग चरणको खेलमा कर्णाली र त्यसपछिको एउटा खेलमा लुम्बिनीलाई पराजित गर्नुपर्ने हुन्थ्यो । 

काठमाडौंले बाँकी दुई खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाजलाई हराउनुपर्थ्यो । योसहित यी दुई टिमले फाइनल पुग्न कर्णाली र ललितपुरले दुवै खेल गुमाउनुपर्थ्यो जुन निकै कठिन थियो । यही कारण दोस्रो संस्करणको फाइनलमा साविक विजेता कर्णाली र उपविजेता ललितपुर भिड्ने फक्काजस्तै थियो ।

लिग खेल्न सबै टिममा ३–३ गरेर १८ जना विदेशी खेलाडी सामेल थिए । क्रोएसिया, थाइल्यान्ड, नेदरल्यान्ड्स, रसिया, रोमानिया, अमेरिका, ब्राजिल, ग्रिस, बुल्गेरिया र किर्गिस्तानका खेलाडी पोखरा आएका थिए । आन्दोलनले उग्र रुप लिएपछि खेलाडी स्वदेश फर्किएका थिए । खेलाडी बास बसेको पोखराको लेकसाइडस्थित होटल सरोवरमा आगजनी नै भएको थियो ।

अनुप

Link copied successfully