फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारत महिला विश्वकप क्रिकेटको उपाधि जित्न सफल
द गार्डियन (मुम्बई) — भारतले ५२ वर्षअगाडि महिलाको विश्वकप क्रिकेट प्रतियोगिता पहिलो पटक खेलेको थियो । भर्खर अहिले आएर भारतको च्याम्पियन हुने सपना पूरा भएको छ । नभी मुम्बईको डीवाई पटिल स्टेडियममा भरिभराउ समर्थकसामु भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हरायो । यो भारतीय क्रिकेटको ठूलो सफलतामा पर्छ ।
लाउरा वोल्फभाडर्टले दक्षिण अफ्रिकाका लागि आकर्षक शतक बनाइन् । इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा पनि उनकै प्रदर्शन निर्णायक भएको थियो । पूरा प्रतियोगितामै उनले सबैभन्दा बढी ५ सय ७१ रन बनाइन् । महिला विश्वकप इतिहासमै कोही एक खेलाडीले बनाएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रन हो ।
तर, प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार भने भारतको नाममा रह्यो । भारतले पहिले ब्याटिङ गरेर ७ विकेटमा २ सय ९८ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले अलआउट हुनु अगाडि २ सय ४६ रनमात्र बनाउन सक्यो । भारतको जितमा दुई जना नायकत्व रह्यो । त्यसमध्ये पहिलो रहिन्, सफाली बर्मा । समूह चरणमा प्रतिका रावललाई खुट्टामा चोट लागेपछि मात्रै सफालीले फाइनल खेल्न पाएकी हुन् । उनैले आफ्नो खेलजीवनकै उत्कृष्ट ८७ रन बनाइन्, त्यो पनि ७८ बलमा । त्यसपछि २ विकेट पनि लिइन् ।
जतिबेला खेल सर्वाधिक रोमाञ्चक र तनावपूर्ण मोडमा थियो, त्यही बेला दीप्ति शर्मा अगाडि आइन् । सुरुमा ५८ रन बनाएकी उनले सटिक योर्करको सहयोगमा एनेरी डेरकसेनलाई बोल्ड गरिन् । त्यसपछि वोल्फभाडर्टको विकेट लिइन् । त्यसका लागि हरमनप्रित कौरले डिप मिडविकेटबाट दौडेर डाइभिङ क्याच लिइन् । यससँगै भारत तेस्रोपल्ट खेलिरहेको फाइनलमा विजेता हुने निश्चित भएको थियो ।
‘म सबैभन्दा पहिले समर्थकप्रति कृतज्ञ छु,’ भारतीय कप्तान हरमनप्रित कौरले भनिन्, ‘फाइनल खेल हेर्न आएका सबैलाई धन्यवाद । हामीले लगातार तीन खेल पनि गुमायौं, तर हामीलाई के विश्वास थियो भने खेललाई आफ्नोतर्फ मोड्न यो टिममा केही विशेष छ ।’ भारतीय टिमका प्रशिक्षक थिए, अमोल मजुमदार । उनको प्रतिक्रिया थियो, ‘उनीहरूले सबै भारतीयलाई गर्व महसुस गराएका छन् । यो भारतीय महिला क्रिकेटका लागि ठूलो अवसर हो ।’
दक्षिण अफ्रिकाका लागि फेरि एकपल्ट मन दुखाउने हार रह्यो । त्यो पनि सन् २०२३ र २०२५ को ट्वान्टी–२० विश्वकप फाइनलपछि । हातैमा देखिएको विश्वकपको उपाधि उनीहरूको
पकडबाट चिप्लिएको यो अर्को एउटा क्षण थियो । भारतलाई भने तेस्रोपल्ट भाग्यले साथ दिएको छ । किनभने सन् २००५ र २०१७ को विश्वकपमा भारत फाइनलमा पराजित भएको थियो ।
सेमिफाइनलमा कीर्तिमान सातपल्टको विजेता अस्ट्रेलियालाई हराएपछि परिस्थिति भारतको पक्षमा मोडिएको थियो । यो आत्मविश्वासले भरिएको यात्रालाई घरेलु टिम फाइनलसम्म डोहोर्याउन सफल रह्यो । सफाली र दीप्तिले अर्धशतक पूरा गरे, ऋचा घोषले २४ बलमा ३४ रन बनाइन् । तब भारत २ सय ९९ रनको चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल रह्यो ।
दक्षिण अफ्रिकाको सबैभन्दा कमजोर पक्ष ‘क्याच’
छुटाउनुरह्यो । एनेके बोचले ओपनर सफाली ५६ रनमा छँदा डिप मिडविकेटमा क्याच छुटाइन् । भर्खर २१ वर्ष लागेकी सफालीका लागि यो विश्वकप यात्रा अकल्पनीय रह्यो । तर, तिनकै ब्याटबाट निस्केको रन भारतको जितको प्रमुख कारण बन्यो ।
उनको प्रदर्शनको सबैभन्दा अविश्वसनीय पक्ष बलिङ नै रह्यो, किनभने दक्षिण अफ्रिका त्यस अगाडि स्तब्ध नै देखियो ।
लगभग एक महिना चलेको विश्वकपमा उनले यसअघि १४ ओभर मात्रै बलिङ गरेकी थिइन् । तर फाइनलमा उनको १५ र १६ औं ओभर निर्णायक रह्यो । सबैभन्दा पहिले उनले सुन लुसको क्याच आफ्नै बलिङमा लिइन् । त्यसपछि मारिजेन कापलाई आउट गरिन् । हरमनप्रितले भनिन्, ‘फाइनलको निर्णायक मोड यही रह्यो । उनले जसरी ब्याटिङ गरिन्, मलाई लागिरहेको आज दिन उनकै हुनसक्छ । ‘यो कुरा मेरो मनमा आइरह्यो । त्यसैले मलाई उनका लागि एक ओभर दिन मन लाग्यो । साँच्चै उनको प्रदर्शन आत्मविश्वासले भरिएको थियो ।’
खेल आफै भने दुई घण्टा ढिलो सुरु भएको थियो, किनभने वर्षाले सुरुमै दुःख दिएको थियो । यस्तोमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङको निर्णय लिएको थियो, यही विश्वासले कि ब्याटिङ सुरुमा गाह्रो हुन सक्ने छ ।
तर दक्षिण अफ्रिकाको त्यो सोच त्यतिबेला गलत साबित भयो, जतिबेला सफालीले स्मृति मन्दानासँग पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गरे, त्यो पनि १८ ओभरभित्र । खासमा दक्षिण अफ्रिकाको कसिकसाउ बलिङ अगाडि भारतले ३ सय रनको आँकडा छुन सकेन । जवाफमा दक्षिण अफ्रिकाको ब्याटिङ पनि कमजोर थिएन, तर दीप्तिले ३९ रन दिएर ५ विकेट लिइन् र दक्षिण अफ्रिकाको खुसी मनाउने योजना किरकिर पारिदिइन् ।
अन्त्यमा, हरमनप्रितले थपिन्, ‘भारतीय महिला क्रिकेटका लागि त यो सुरुआतमात्रै हो । हामीले एउटा ठूलो चुनौती पार गरेका छौं, अब यो जित्ने बानीलाई निरन्तरता दिन चाहन्छौं । हामीले यस्तै एक खास मोड पर्खिरहेका थियौं । अहिले त्यो हात पारेको छ । हामी अब आफ्नो खेलमा अझ धेरै सुधार गर्न चाहन्छौं । साँच्चै यो कुनै अन्त्य होइन, सुरुमात्रै हो ।’
