काठमान्डु स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई भित्राएको घोषणा गरेको हो ।
काठमाडौँ — काठमान्डु गोर्खाजले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्पसनलाई भित्राएको घोषणा गरेको हो ।
३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए । लर्ड्समा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।
गोर्खाजले भित्राएका विदेशी खेलाडीमा उनी दोस्रो विकेटकिपर हुन् । गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई आफ्नो टोलीमा समावेश गरिसकेको छ । नामिबियाका कप्तान जेरहार्ड इरसमस,अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थ एनपीएलका लागि भित्राइएका अन्य विदेशी खेलाडी हुन् ।
‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता,अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देब्रेहाते विकेटकिपर–ब्याटर उनले काउन्टीमा वर्षौंदेखि सफलताहरु पाउँदै आएका छन्,’ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनको बारेमा टोलीको विज्ञप्तिमा भनेका छन्, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन् । उनको व्यावसायिकता र शान्त स्वभाव अमूल्य छ । काठमान्डु गोर्खाज परिवारमा उनलाई आबद्ध गर्न पाउँदा हामी निकै खुसी छौं र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ ।’
सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २ सय २९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् । सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १ सय २९ रन बनाएका थिए । यो उनको पछिल्लो खेल रहेको थियो ।
त्यस्तै, उनले ११५ लिस्ट‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका थिए । ट्वान्टी–२० मा उनले १ सय ९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन् । ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले द हन्ड्रेडमा लांकशायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन् । भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन् ।
