सलाह भन्छन् : ‘यति ठूलो क्लबका लागि यति धेरै गोल गर्नुले अपार खुसी दिन्छ नै । मलाई यो कम्तीको उपलब्धि जस्तो लाग्दैन ।’
लिभरपुल — मोहमद सलाहले लिभरपुलका लागि २ सय ५० औं गोल गर्दा असाध्यै खुसी लागेको बताएका छन् । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हरायो र इजिप्टको तिनै खेलाडीको गोलको मद्दतले आफ्नो हारको अकल्पनीय यात्रा टुंग्याउन सफल रह्यो ।
एनफिल्डमा भएको खेलमा सलाहले पहिलो हाफको ठीक अगाडि गोल गरे । भिल्लाका विश्वकप विजयी अर्जेन्टिनी गोलरक्षक इमिलिएनो मार्टिनेजले दिएको गलत पासलाई सलाहले असाध्यै सहज देखिने गरेर गोल गरे । यो सम्भवतः उनको सबैभन्दा सजिलो गोलमध्ये एक रह्यो । तर गोलले छोएको कोसेढुंगा उपलब्धिका लागि यसलाई कसैले पनि चाँडै बिर्सन सकिने छैन ।
सलाहले खेलपछि भने, ‘यति ठूलो क्लबका लागि यति धेरै गोल गर्नुले अपार खुसी दिन्छ नै । मलाई यो कम्तीको उपलब्धि जस्तो लाग्दैन ।’ उनले थपे, ‘त्यसैले मैले अहिले गर्वको महसुस गरिरहेको छुं, यो उपलब्धिका लागि ।’ सलाहका लागि भने यो व्यक्तिगत उपलब्धि रहेन, यससँगै लिभरपुलले प्रिमियर लिगमा लगातार चार खेलको हार क्रमलाई पनि पूर्णविराम लगाएको छ । आर्ने स्लटको लिभरपुल सबै प्रतियोगिताका गरेर यसअघिका सातमध्ये छ खेलमा पराजित रहेको थियो । यसले क्लबले सिजनको सुरुमा गरेको अत्यधिक खर्चमाथि पनि प्रश्न उठाएको थियो ।
त्यस्तै सलाहको आफ्नै व्यक्तिगत प्रदर्शनमाथि पनि सन्देह उठ्न थालेको थियो । गत सिजनको तुलनामा उनको प्रदर्शन केही कमजोर रहेको आरोप लाग्न थालेको थियो । भिल्लाविरुद्धको त्यो गोल यो सिजनकै उनको व्यक्तिगत पाँचौं मात्र हो । लय गुमाएपछि स्लटले सलाहलाई दुईपल्ट सुरुआती टिममा समेत राखेका थिएनन् । ‘म किन पनि खुसी छु भने टिम फेरि लयमा फर्केको छ,’ उनले भने ।
उनको विश्लेषण थियो, ‘आजको जित निकै महत्त्वपूर्ण छ किनभने हामी प्रिमियर लिग र च्याम्पियन्स लिगका केही खेलमा पराजित रह्यौं । अब पनि हाम्रो अगाडि केही महत्त्वपूर्ण खेल छन् र त्यसका लागि अब तयारी गर्न सक्छौं । अहिलेसम्म यो सिजन हाम्रा लागि उतारचढावपूर्ण रह्यो । यसको कारण टिममा केही नयाँ खेलाडी आए । ती उत्तिकै राम्रा छन् तर टिमसँग भिजेर खेल्न समयचाहिँ लाग्नेछ ।’
सलाहले लिभरपुलका लागि पछिल्ला दुई खेलमा गोल गरेका छन् र लिभरपुल तेस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको आर्सनलसँग उपाधि होडमा सात अंकको दूरी हो । आर्सनलको १० खेलबाट २५ अंक छ । लिभरपुलको भने १९ अंक भएको छ । उसले अहिलेसम्म खेलेका १० खेलमा छ जित र चार हार छन् । स्लटलाई अबको खेलमा सलाह जत्तिको खेलाडीबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ ।
यस्तो किनभने रियल म्याड्रिड च्याम्पियन्स लिगको खेल खेल्न एनफिल्ड आउँदै छ । यस्तै प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीको भ्रमण गर्दै छ । सलाहले थपे, ‘हामीले यो सिजनका लागि भनेर केही महत्त्वपूर्ण खेलाडी पनि गुमाएका छौं । अहिलेको स्थितिमा सबै खेलाडीले एकआपसलाई बुझ्न र त्यहीअनुसार खेल्न समय लाग्नेछ । तर मलाई के पनि विश्वास छ भने अब जे हुनेछ, राम्रो हुनेछ ।’
