नेपालको लगातार तेस्रो हार

कमजोर बलिङ र फिल्डिङपछि नेपाल ठूलो स्कोर रक्षा गर्न असफल

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Nepal's third consecutive defeat

काठमाडौँ — कमजोर बलिङ र फिल्डिङपछि नेपालले अमेरिकासँग विश्वकप लिग–२ क्रिकेटमा ४ विकेटको हार बेहोरेको छ । अमेरिकाले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा शनिबार २ सय ७३ रनको विजयी लक्ष्य बनाउँदै नेपाललाई पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भएको थियो । दीपेन्द्रसिंह ऐरी र गुलशन झा जस्ता अनुभवी खेलाडीले क्याच छाड्न पुगेपछि अमेरिकाले ६ बल अगाडि लक्ष्य पूरा गर्‍यो ।

नेपालको दुबईमा यो लगातार तेस्रो हार हो । यसले नेपालको एकदिवसीय मान्यता जोगाउने अभियानलाई पनि संकटमा पारेको छ । नेपाल १९ खेलबाट १२ अंकमात्र जोडी ८ राष्ट्र सहभागी लिग–२ को सातौं स्थानमा छ । नेपालसँगको विजयपछि अमेरिकाले शीर्ष स्थानलाई थप मजबुत बनाएको छ ।

अमेरिका २३ खेलमा ३४ अंक जोडी दोस्रो स्थानको स्कटल्यान्डभन्दा ४ अंकले अगाडि छ । लिग–२ का शीर्ष चार टोली सोझै एकदिवसीय विश्वकप छनोटमा पुग्ने प्रावधान छ । 

अमेरिकालाई विजयका लागि अन्तिम दुई ओभरमा १२ रन आवश्यक थियो । तर नन्दन यादवले फालेको ४९ औं ओभरको चौथो र छैटौं बलमा हरमित सिंहले दुई छक्का प्रहार गरेपछि अमेरिकाले ६ बल अगाडि नै २ सय ७३ रन बनाएको थियो । हरमित ५ बल खेली १३ र सञ्जय कृष्णमुर्थी १३ बलमा १ छक्का प्रहार गरी १५ रन बनाई अविजित रहे ।

अमेरिकाको जितमा मिलिन्द कुमार पुनः एक पटक नायक बने । उनले ६६ बलमा ७० रन बनाए । यूएईमा भइरहेको यस शृंखलामा यो उनको लगातार तेस्रो अर्धशतक हो । नेपालविरुद्धको अघिल्लो खेलमा पनि उनले ५५ बलमा ७० रन बनाएका थिए । प्लेयर अफ द म्याच मिलिन्दले ७ चौका र १ छक्का प्रहार गरे । 

साइतेजा मुकामल्लाले पनि ७५ रन बनाए । १ सय १ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । स्मित पटेल १६, सायन जहाँगिर ४२ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३६ र कप्तान मोनांक पटेल २८ बल खेली २ चौकासहित २१ रन 

बनाई आउट भए । मध्यक्रममा सुभम रञ्जनेले १२ बल खेली समान १ चौका र छक्कासहित १९ रन बनाए । नेपालबाट सन्दीप लामिछानेले १० ओभरमा ५५ रन खर्चेर ३ तथा नन्दन, करण केसी र गुलशनले १–१ विकेट लिए । 

यसअघि दीपेन्द्रको अर्धशतक र करणको आक्रामक ब्याटिङमा नेपालले अमेरिकालाई ठूलो लक्ष्य दिएको थियो । दीपेन्द्रले ६७ बल खेली २ चौका र ३ छक्कासहित ७५ रन बनाए । ४१ औं ओभरमा ब्याटिङका लागि आएका करणले ३१ बल खेली २ चौका र ३ छक्कासहित ४९ रन बनाएपछि नेपालले मजबुत स्कोर तेर्स्याएको हो ।

नेपालको सुरुआत राम्रो थिएन । आसिफ शेख २ रनमात्र बनाई आफूले सामना गरेको दोस्रो बलमै बोल्ड भए । ओपनर कुशल भुर्तेलले भीम सार्कीसँग दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । भीमले ५८ बल खेली ४ चौकासहित ४३ रन बनाए ।

कुशलले ६५ बल खेली समान २ चौका र छक्का प्रहार गरी ४७ रन जोडे । आरिफ शेख पनि २ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्रले पाँचौं विकेटमा ८९ रनको साझेदारी गरे । अघिल्लो पटक शतक बनाएका रोहितले ४६ बल खेली २ चौकासहित ३६ रन बनाए ।

गुलशन झा ५ तथा नन्दन यादव र ललित राजवंशी समान १ रनमा आउट भए । सन्दीप लामिछाने ४ रनमा अविजित रहे । अमेरिकाका हरमितले ३ विकेट लिए । देब्रे हाते स्पिनर हरमितले १० ओभरमा ३३ रन खर्चे । उनले नेपालविरुद्धको अघिल्लो खेलमा ६ विकेट लिएका थिए । सौरभ नेत्राभाल्कर र जसदीप सिंहले २–२ तथा सुभम रञ्जनले १ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully