रुपन्देहीमा एनपीएल ट्रफी टूर

काठमाडौंबाट बिहान साढे ९ बजे भैरहवा विमानस्थलमा ल्याइएको ट्रफीको बाजागाजासहित स्वागत गरिएको थियो ।

कार्तिक १५, २०८२

दीपेन्द्र बडुवाल

NPL Trophy Tour in Rupandehi

भैरहवा — नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुनुपूर्व शनिबार रुपन्देहीमा ट्रफी टूर कार्यक्रम गरिएको छ ।

काठमाडौंबाट बिहान साढे ९ बजे भैरहवा विमानस्थलमा ल्याइएको ट्रफीको बाजागाजासहित स्वागत गरिएको थियो । 

एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफी ‘रिसिभ’ गर्न लुम्बिनी लायन्स क्लबका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा विमानस्थल पुगेका थिए । उनीहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ‘रिसिभ’ गरेका थिए । ट्रफी ग्रहण कार्यक्रममा पूर्वराष्ट्रिय कप्तान शक्ति गौचन, रुपन्देही क्रिकेट संघका पदाधिकारी, वर्तमान र पूर्व राष्ट्रिय खेलाडी पुगेका थिए । 

एनपीएल टिम लुम्बिनी लायन्सका खेलाडी र समर्थक झण्डासहित स्वागत गर्न पुगेका थिए । ट्रफीको सम्मान र स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड आमन्त्रण गरिएको थियो । लुम्बिनी लायन्सका मेन्टर शक्ति गौचनका अनुसार विमानस्थलबाट ट्रफीलाई र्‍याली र बाजागाजासहित बुद्ध जन्मस्थल लुम्बिनी पुर्‍याएको थियो । त्यहाँ मायादेवी मन्दिर परिसरमा लुम्बिनी लायन्स क्लबको झण्डासहित ट्रफी प्रदर्शन गरिएको थियो । 

लुम्बिनी दर्शनपछि ट्रफी टूरका सहभागी भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आएका थिए । रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र क्रिकेट संघका अध्यक्ष थापाले स्वागत गरेका थिए । 

NPL Trophy Tour in Rupandehi

रंगशालामा आयोजित स्वागत कार्यक्रममा लुम्बिनी प्रदेशका खेलकुद मन्त्री पाण्डेले लुम्बिनी लायन्सले एनपीएल उपाधि हाँसिल गरेमा प्रदेश सरकारले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे । दत्तचित्त भएर उपाधि जित्नका लागि कडा परिश्रम गर्न उनले टिमका खेलाडी लाग्नुपर्ने बताए । 

सिद्धार्थ रंगशालापछि भैरहवामा बेलहियामा रहेको खुकुरी क्लवले स्वागत कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ पनि ट्रफी प्रदर्शन गरिएको थियो । उक्त कार्यत्रममा लुम्बिनी लायन्सका मालिक  जिसीले यसपटक लुम्बिनीले एनपीएलको ट्रफी जितेर ल्याउने विश्वास व्यक्त गरे । एनपीएल र ट्रफीप्रति सर्वसाधारणको समर्थन जुटाउन ट्रफी टूर आयोजना गरिएको जानकारी दिए । बेलहियामा कार्यक्रम सकिएपछि तिलोत्तमा नगरपालिकामा रहेको एक्ष्ट्राटेक ओभल क्रिकेट रंगशालामा ट्रफी पुर्‍याइएको थियो । 

एक्स्ट्राटेक लुम्बिनी लायन्सको घरेलु मैदान हो । त्यहाँ एक्स्ट्राटेकका प्रमुख बिनोद कुँवरले ट्रफी र खेलाडीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिका पुरातात्विक र ऐतिहासिकस्थल परिक्रममा गराइएको थियो । साँझ रुपन्देही र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाममा ट्रफि पुर्‍याइएको थियो । त्यसपछि मणिग्रामस्थित विश्राम वाटिका होटलमा औपचारिक कार्यक्रम गरेर टुर समापन गरिएको गौचनले जानकारी दिए । 

दीपेन्द्र

Link copied successfully