टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अल आउट भयो ।
काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतक र करण केसीका आक्रामक ब्याटिङमा नेपालले विश्वकप लिग २ क्रिकेटमा शनिबार अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अल आउट भयो ।
दीपेन्द्रले ६७ बल खेलि २ चौका र ३ छक्कासहित ७५ रन बनाए । ४१ औं ओभरमा ब्याटिङका लागि आएका करणले ३१ बल खेलि २ चौका र ३ छक्कासहित ४९ रन बनाएपछि नेपालले मजबुत स्कोर तेर्स्याएको हो ।
दुबई स्थित आईसीसी एकेडेमी मैदानमा नेपालको सुरुआत राम्रो थिएन । आसिफ शेख २ रनमात्र बनाई आफुले सामना गरेको दोस्रो बलमै बोल्ड भए । ओपनर कुशल भुर्तेलले भीम सार्कीसँग दोस्रो विकेटमा ८६ रनको साझेदारी गरे । भीमले ५८ बल खेलि ४ चौकासहित ४३ रन बनाए ।
कुशलले ६५ बल खेलि समान २ चौका र छक्का प्रहार गरि ४७ रन जोडे । आरिफ शेख पनि २ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्रले पाँचौं विकेटमा ८९ रनको साझेदारी गरे । अघिल्लो शतक बनाएका रोहितले ४६ बल खेलि २ चौकासहित ३६ रन बनाए ।
गुलशन झा ५ तथा नन्दन यादव र ललित राजवंशी समान १ रनमा आउट भए । सन्दीप लामिछाने ४ रनमा अविजित रहे । अमेरिका हरमित सिंहले ३ विकेट लिए । देव्रेहाते स्पिनर हरमितले १० ओभरमा ३३ रन खर्चे । उनले नेपालविरुद्धको अघिल्लो खेलमा ६ विकेट लिएका थिए । सौरभ नेत्राभाल्कर र जसदिप सिंहले २–२ तथा सुभम रन्जनले १ विकेट लिए ।
यूएईमा भइरहेको यस शृंखलाको अघिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो ।
