प्रशिक्षक रसले बीचमै किन छाडे ?

खराब प्रदर्शनबाट गुज्रिरहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमलाई प्रशिक्षक म्याट रसको राजीनामाले थप अन्योलतर्फ धकेलेको छ

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Why did Coach Ross leave midway?

What you should know

काठमाडौँ — पहिलो पटक नेपाली मिडियाको सामना गर्दा म्याट रसले नेपाली फुटबललाई अर्कै स्तरमा पुर्‍याउने दाबी गरेका थिए । तर, उनी एक वर्ष पनि टिकेनन् । सायद सात महिना पुग्दा नपुग्दै हरेस खाए । जतिले उनलाई पछिल्लो समय नजिकबाट हेर्ने मौका पाए । सबैको एउटै धारणा थियो, उनी दिनदिनै निराश हुँदै गइरहेका छन् । यो सबै खराब स्थिति उनको अनुहारमै झल्किन थालेको थियो । 

यी अस्ट्रेलियाली प्रशिक्षकले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको जिम्मेवारीबाट राजीनामा दिएको बिहीबार औपचारिक रूपमा बाहिर आयो । भलै उनले तीन दिन अघि नै आफ्नो राजीनामा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पठाइसकेका थिए । एन्फा स्रोतका अनुसार व्यक्तिगत कारणले उनी जर्मनीमा छन् । मूल प्रश्न उनले किन मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिए त ? 

सायद यसको पनि ठ्याक्कै उत्तर आउने छैन । जतिबेलासम्म उनी आफैंले प्रतिक्रिया दिने छैनन् । तर राजीनामाको केही कारण भने सजिलै अनुमान गर्न सकिन्छ । उनै नजिक रहेर काम गरेकाहरूको विश्वास गर्ने हो भने । पहिलो कारण थियो, उनले आफ्नो सहायकका रूपमा नियुक्त गरेका लिन्डे डेविड हेन्डरसनलाई टिमबाट हटाउनु । उनले अनौपचारिक रूपमै टेक्निकल एनालिस्ट लिन्डे आफ्नो टिममा हुनुपर्ने भन्दै आएका थिए । तर, एन्फाले उनलाई टिममा निरन्तरता दिएन । 

Why did Coach Ross leave midway?लिन्डेको स्थानमा पछिल्लो समय सल्याण खड्गीले रसको सहायक भएर काम गरेका थिए । दोस्रो कारण, प्रमुख प्रशिक्षकका रूपमा उनीसामु खेलाडी चयन गर्ने कुनै माध्यम नै नहुनु । बंगलादेशविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलपछि उनले लिग नभएको दुई वर्षभन्दा बढी भइरहेको स्थितिमा खेलाडीले यति खेल्नु पनि ठूलै भएको बताएका थिए । 

त्यसअघि उनले केही खेलाडी बोलाएर खुला छनोटको प्रक्रिया पनि अपनाए । उनलाई के लाग्न थालेको थियो भने लिग नहुँदा राष्ट्रिय टिमका लागि खेलाडी नै चयन गर्न कठिन भएको छ । यसले राष्ट्रिय टिमकै प्रदर्शन पनि खराब हुन थालेको थियो । उनले खुलेर सबैलाई भन्न थालेका थिए, राष्ट्रिय टिममा अहिले खेलिरहेका तीन खेलाडीमात्र छन् । तिनीहरू कप्तान किरण लिम्बू, रोहित चन्द र अनन्त तामाङ ।

यसबीच केही खेलाडी प्रशिक्षक रससामु लिग भएन र राष्ट्रिय टिम यसरी नै चलिरहे संन्यास लिने धम्की दिएका थिए । राष्ट्रिय टिमको खराब प्रदर्शनले उनी आफ्नो करियर खराब हुन सक्नेमा पनि सचेत थिए । त्यसैले उनले एकाएक राजीनामा दिए । तर, त्यसका लागि लामो समयदेखि योजना बनाइरहेका थिए । जतिबेला उनको छाडेको कुरा बाहिर आयो, यसले नेपाली राष्ट्रिय टिम फेरि अनिश्चितता, निराशा र अन्योलतर्फ धकेलिएको छ ।

कान्तिपुर

Link copied successfully