लय समाउने दाउमा नेपाल र यूएई

पछिल्ला आठ ट्वान्टी–२० अन्तर्राष्ट्रियमध्ये ७ खेल जितेर विश्वकपमा पुगेको नेपालले एकदिवसीय विश्वकप छनोटको आधार मानिएको लिग २ को पहिलो खेलमा अमेरिकासँग त्यसअनुरुप प्रदर्शन गर्न सकेन ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Nepal and UAE in the race to maintain harmony

What you should know

काठमाडौँ — अमेरिकासँग पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालले विश्वकप लिग २ क्रिकेटमा बुधबार यूएईको सामना गर्नेछ । एसोसिएट क्रिकेटमा एसियाली क्षेत्रको शीर्षस्थ यी दुई टोली लिग २ मा भने पुछार छ । 

पछिल्ला आठ ट्वान्टी–२० अन्तर्राष्ट्रियमध्ये ७ खेल जितेर विश्वकपमा पुगेको नेपालले एकदिवसीय विश्वकप छनोटको आधार मानिएको लिग २ को पहिलो खेलमा अमेरिकासँग त्यसअनुरुप प्रदर्शन गर्न सकेन । २ सय ६३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल टोलीको ब्याटिङमा संयमता भने हतास देखिन्थ्यो र टोली १ सय ५६ रनमै अलआउट भएको थियो । ट्वान्टी–२० को शैली परिवर्तन गर्न नसकेको भनेर नेपाली ब्याटिङ आलोचित छ ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १७ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएईको हालत उस्तै छ । टोलीले १७ मध्ये १४ खेलमा पराजय भोग्दै ६ अंकमात्र लिएर पुछारमा छ । अमेरिका भने यी दुई टोलीको ठिक विपरीत शीर्षस्थानमा छ र टोलीले २२ खेलमा ३२ अंक जोडिसकेको छ ।

यूएईसँग उत्रिँदा नेपालसामु भने शीर्ष चारभित्र रहेर सोझै एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउने आशा कायमै रहनेछ । तर त्यसका लागि नेपालले आफ्नो ब्याटिङमा ठूलो सुधार ल्याउनुपर्ने हुन्छ । नेपालले यूएईविरुद्धका पछिल्ला सबै ५ खेल जितेको छ । त्यसमध्ये एक खेल दुबईमै थियो । 

नेपालले अमेरिकासँग दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलेको थियो । अबको सबै तीन खेल नेपालले आईसीसी एकेडेमीमा खेल्ने छ । नेपालले सन् २०१९ मा पछिल्लो पटक यस मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा कप्तान पारस खड्काले शतक बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो ।

यूएई पूर्ण रूपमा नयाँ टोली हो । वृत्या अरविन्द, आसिफ खान, आर्यन लार्का, आयान अफ्जल खान जस्ता खेलाडी यूएईको टोलीमा छैनन् । अमेरिकासँग ४ विकेटले पराजित पछिल्लो खेलमा यूएईले हर्षित कौसिक, हैदर अली, मोहम्मद रोहिद, मोहम्मद शाहदाद र शोएब खानलाई एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गराएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully