राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

प्रशिक्षक रसले राजीनामा किन दिए, त्यसबारे पूरा जानकारी आउन भने बाँकी नै रहेको छ । उनको नेतृत्वमा नेपालले अहिलेसम्म सात खेल खेलेको छ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले दुई दिन अगाडि नै राजीनामा दिएका हुन् । उनको नेतृत्वमा नेपालले एसिया कप छनोटमा भियतनामविरुद्ध हो चि मिनमा दुई खेल खेलेका थियो । त्यस अगाडि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो र त्यो गोलरहित बराबरीमा टुंगेको थियो ।  

प्रशिक्षक रसले राजीनामा किन दिए, त्यसबारे पूरा जानकारी आउन भने बाँकी नै रहेको छ । उनको नेतृत्वमा नेपालले अहिलेसम्म सात खेल खेलेको छ ।

अस्ट्रेलियाली प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनीसँग विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षणको अनुभव रहेको छ ।

कान्तिपुर

Link copied successfully