नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिकाले दुबईमा मंगलबार घरेलु टोली यूएईलाई ४ विकेटले हरायो ।
काठमाडौँ — अमेरिकाले विश्वकप लिग २ क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिकाले दुबईमा मंगलबार घरेलु टोली यूएईलाई ४ विकेटले हरायो ।
मिलिन्द कुमारले लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएपछि अमेरिकाले २ सय १२ रनको लक्ष्य ५ बलअघि २ सय १३ रन बनाई पूरा गरेको थियो । अमेरिका २२ खेलमा ३२ अंक जोड्दै शीर्षस्थानमा छ भने
यूएई ६ अंकसहित पुछारमा छ । यूएईले १७ मध्ये १४ खेलमा पराजय भोगिसकेको छ । मिलिन्दले ८१ बलमा ४ चौका र १ छक्कासहित ७१ रन बनाए । नेपालविरुद्धको खेलमा पनि उनले ५० बलमा अविजित ७० रन बनाएका थिए । तर यूएईसँगको खेलमा प्लेयर अफ द म्याच शुभम रन्जने चुनिए । उनले ८१ बलमा ४ चौकासहित अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिए । कप्तान मोनांक पटेलले ६७ बलमा ५ चौकासहित ५० रन बनाए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ११ रन बनायो । हर्षित कौसिकले ५४ बलमा १ चौका र ४ छक्कासहित ५३, कप्तान राहुल चोपडाले ५९ बलमा ३६, मोहम्मद सहदादले ७९ बलमा ३४, शोएब खानले २७ र मोहम्मद वसिमले २१ रन बनाए । अमेरिकाबाट पूर्वकप्तान सौरभ नेत्राभाल्करले ३ तथा जसदीप सिंह र रन्जनेले २–२ विकेट लिए ।
