नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल टाइब्रेकरमा ३–० ले जितेको छ ।
काठमाडौँ — नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल टाइब्रेकरमा ३–० ले जितेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक रहिन् र उनले भारतका दुई प्रहार रोकिन् ।
भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे । कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि नेपाल एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल भएको हो ।
सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपाल बराबरी गोल फर्काउन सफल रह्यो । अनिताको कर्नर प्रहारमा रश्मिकुमारी घिसिङले हेड गर्दै बललाई पोस्टको दिशा दिएकी थिइन् ।
यससँगै नेपालको भारत भ्रमण टुंगेको छ । थ्री नेसन्स कपमा नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित रहेको थियो । दोस्रो खेलमा भने भारतलाई २–१ ले हराउन सफल रहेको थियो ।
