जब देवा थापाले दोस्रो पटक छोटा डनलाई पछारे...

सुरुमै छोटा डनले नियमविपरीत खेलेर देवालाई झुक्याएर पछारे । तर दर्शकदीर्घाबाटै विरोध भएपछि देवा र छोटा डनबीच वास्तविक भिडन्त सुरु भयो । करिब तीन मिनेटमा देवाले आफ्नो चीरपरिचित अन्दाजमा छोटा डनलाई चित गरे ।

कार्तिक १२, २०८२

शंकर आचार्य

When Deva Thapa defeated Chota Don for the second time...

What you should know

पर्सा — सिमसिमे पानीले चिसिएको अखाडा छेउ दिउँसो करिब २ बजे नेपालमा जन्मिएर भारतमा चर्चा कमाएका पहलमान देवा थापा झुल्किए । उनी यहाँ आफ्नो कुस्ती कला देखाउन आउन लागेको प्रचार आयोजकले गरेकाले पनि अखाडा वरिपरि करिब ५ हजारको संख्यामा कुस्तीको मज्जा लिन दर्शक ओइरिएका थिए ।

होचो कदका फुर्तिला देवालाई देख्नासाथ दर्शकदीर्घाबाट उनको स्वागतमा ठूलो हुटिङ भयो । उनी हात हल्लाउँदै आफ्ना प्रशंसकलाई अभिवादन गर्दै थिए । त्यतिबेलै भारत राजस्थानबाट आएका छोटा डन नाम गरेका पहलमान उनीउपर जाइ लागेर हातपात गर्न थाले । सम्भवतः छोटा डनले दर्शकदीर्घाबाट पाएको देवा थापाको  समर्थनको स्वर पचाउन सकेनन् ।  

अनि देवाले छोटा डनलाई भने, ‘हतार नगर म तिमीलाई अखाडाबाटै जवाफ दिनेछु ।’ दर्शक पनि देवाको कुस्तीकला हेर्न आतुर दिए । दर्शकदीर्घाबाटै देवा थापाको माग गर्दै हुटिङ हुन थालेपछि आयोजकलाई देवालाई अखाडामा नउतारी धरै भएन ।

यसरी सुरु भएको थियो देवा थापा र छोटा डनबीचको घमासान कुस्ती ।

सुरुमै  छोटा डनले नियमविपरीत खेलेर देवालाई झुक्याएर पछारे । तर दर्शकदीर्घाबाटै विरोध भएपछि देवा र छोटा डनबीच वास्तविक भिडन्त सुरु भयो । करिब तीन मिनेटमा देवाले आफ्नो चीरपरिचित अन्दाजमा छोटा डनलाई चित गरे । तर देवाले नै छोटा डनको घमण्ड तोड्न दोस्रो पटक पनि लड्ने अवसर छोटा डनलाई दिए । दोस्रो पटकमा पनि देवाले छोटा डनलाई चित गरे ।

अनि देवालाई दर्शक दीर्घाबाट स्याब्बासी र नगद पुरस्कारको ओइरो लाग्यो ।

परवानीपुर गाउँपालिका वडा नं. २ रामपुर टोकनीमा आयोजित महावीरी झण्डी मेलामा बुधबार आयोजित दंगलको दृश्य थियो यो ।

छठ पर्वको मैजारोमा आयोजित कुस्ती दंगलले स्थानीयलाई निकै मनोरन्जन दिएको थियो । दर्शकदीर्घामा नाति पुस्तादेखि हजुरबुवा उमेर समूहका दर्शकको पनि उपस्थिति थियो । झण्डी मेला नाम दिइए पनि दर्शकको आकर्षण कुस्तीतर्फ देखापर्दा कुस्ती मेला हो कि भन्ने भान पनि भइरहेको थियो ।

तराईबासी चाडपर्वमा मेला र त्यसमा आयोजना गरिने कुस्ती प्रतियोगितामा बढी रमाउँछन् । तराईको यो सर्वाधिक प्रसिद्ध खेलले सामाजिक सन्जालको आजको  युगमा पनि बाक्लै दर्शकलाई आफूतर्फ खिच्छ । अझै पनि कुस्ती भनेपछि तराई मधेशका पुरुष हुरुक्कै हुन्छन् । छठ पर्वको समापनसँगै यहाँ मात्र नभई वीरगन्जको इनरवा र ग्रामीण भेगको धोरेमा पनि भव्य कुस्ती मेला आयोजना गरिएको थियो ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully