‘साम्बा’ का गोलहरू

नेपालले महिलाको अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ देखि हो, भारतविरुद्ध सोमबार नेपालले खेलेको १०४ औं अन्तर्राष्ट्रिय खेल हो, अहिलेसम्म कुल २५९ गोल भएको छ, त्यसमध्ये सावित्रा भण्डारी एक्लैको ६८ गोल छ 

कार्तिक १२, २०८२

हिमेश

Goals of 'Samba'

What you should know

काठमाडौँ — फुटबलर सावित्रा भण्डारीको अनेक कथा बुन्न सकिन्छ । उनलाई कसैले ‘साम्बा’ भन्दा खुसी नै लाग्छ । उनका अनेक कथामध्ये सबैभन्दा बेजोड हुने त गोलको कथा न हो । त्यसैले साम्बाको गोल कथा सबैभन्दा रूचिकर हुने निश्चित छ ।

उनले कति गोल गरेकी छन् भन्दा त्यसको हिसाबकिताब कहिलेकाहीं गाह्रै हुने गर्छ । यदि उनी ‘गोलमेसिन’ हुन् भने यस्तो हुनुमा फेरि के नै आश्चर्य छ र ? 

सिलोङमा भएको थ्री नेसन्स कपमा सोमबार सावित्राले आयोजक भारतविरुद्ध दुई गोल गरिन् । त्यसकै सहयोगमा नेपाली टिम भारतीय भूमिमै सानदार २–१ को जित रच्न सफल भयो ।

इरानसँगको अलिकति निराशाजनक प्रदर्शनपछि भारतमाथिको जितले नेपाली फुटबलमा फेरि उत्साह थपेको छ । भारत अहिले त्यो टिम हो, जुन एसिया कपमा छनोट भएको छ । साम्बासँग जोडिएका गोल हिसाबकिताबको १० तथ्य :

कुल गोलसंख्या ६८

सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो, सावित्राको कुल गोलसंख्या कति पुग्यो त ? यसको ठ्याक्कै उत्तर हो, ६८ । पुरुष होस् वा महिलाको खेल, अन्तर्राष्ट्रिय फुटबलमा उनी नै सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले गोलको त्यो उचाइ छोएको छ, जुन सम्भवतः अब अरूका लागि छोइनसक्नु हुनेछ । अनि फेरि अबका दिनमा उनी आफैंले पनि यो गोलको आँकडा बढाउने छन् । 

सबैभन्दा छिटो गोल

भारतविरुद्धको त्यही खेलमा प्राप्त जितमा सावित्राले दोस्रो मिनेटमै गोल गरिन् । नेपालका लागि उनले गरेको पहिलो गोल सुरुमै सम्भव भएको थियो । नेपालका लागि सम्भव यो नै सबैभन्दा छिटो गोल हो त ? सायद । धेरै हदसम्म । हामीसँग यसको ठ्याक्कै तथ्यांक छैन । तर सावित्राले भने अहिलेसम्म जति गोल गरिन्, त्यसमा सबैभन्दा कम समयमा उनले गरेको गोल यो नै हो । 

१८ देशविरुद्ध गोल

सावित्राले अहिलेसम्म गरेका गोल १८ फरक–फरक प्रतिद्वन्द्वी देशविरुद्ध छ । यो पनि आफैंमा कीर्तिमान हुनसक्छ । ती देश कुन–कुन हुन् त ? यसको सूची पनि रमाइलै हुन्छ । यी भुटान, श्रीलंका, मलेसिया, माल्दिभ्स, भारत, म्यानमार, इरान, बंगलादेश, इन्डोनेसिया, किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, भियतनाम, सिरिया, इराक, प्यालेस्टाइन, लेवनान र लाओस । 

भुटानविरुद्ध सबैभन्दा बढी गोल

यी १८ देशमध्ये भुटान त्यस्तो प्रतिद्वन्द्वी हो, जोविरुद्ध सावित्राले सबैभन्दा बढी गोल गरेकी छन् । यसले छोएको संख्या हो, १० । त्यसपछि उनले भारतविरुद्ध ९, माल्दिभ्सविरुद्ध ८, श्रीलंकाविरुद्ध ७ गोल, इराकविरुद्ध ५ गोल गरेकी छन् । किर्गिस्तान, उज्वेकिस्तान, लाओसविरुद्ध समान ४ गोल गरेकी छन् । सबैलाई के पनि थाहा छ भने यसमध्ये सावित्रालाई मनपरेको गोल भनेको भारतविरुद्ध नै हो । 

३५ खेलमा गोल

अब अर्को उत्तिकै महत्त्वपूर्ण तथ्यांक । सावित्राले नेपालका लागि खेलेको खेलसंख्या ५९ पुगेको छ । त्यसमध्ये ३५ खेलमा उनले गोल गरेकी छन् । त्यसको अर्थ उनले आफूले खेलेका ६० प्रतिशत खेलमा गोल गरेकी छन् । अर्को अर्थमा उनको प्रत्येक खेलमा गोल औसत १.१५ छ । यो त असाध्यै उच्च हो । यसले पक्कै देखाउँछ, उनी ‘गोलमेसिन’ नै हुन् भनेर । 

 एक चौथाइ गोल उनकै

नेपालले महिलाको अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ देखि हो । भारतविरुद्धको पछिल्लो भिडन्त नेपालले खेलेको १०४ औं अन्तर्राष्ट्रिय खेल हो । यसमा अहिलेसम्म कुल २ सय ५९ गोल भएको छ । त्यसमध्ये सावित्राको ६८ गोल हो । यस अर्थमा नेपालबाट सम्भव जति पनि अन्तर्राष्ट्रिय गोल छन्, त्यसमध्ये एक चौथाइ त सावित्राकै नाममा छ । यो अर्को ठूलो उपलब्धि हो । 

भुटानविरुद्ध पहिलो गोल

सावित्राले गरेको पहिलो गोल भुटानविरुद्ध नै छ । त्यो सन् २०१४ को तेस्रो साफ च्याम्पियनसिपमा हो । त्यो प्रतियोगिता पाकिस्तानको इस्लामाबादमा भएको थियो । उनी त्यस खेलमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन् । त्यसको एकै क्षणमा गोल गर्न पनि सफल रहिन् । उनको त्यो पहिलो ऐतिहासिक गोलको ठ्याक्कै समय ८८ औं मिनेट थियो । 

एकै खेलमा ६ गोल

एकै खेलमा सावित्राले गरेको सबैभन्दा बढी गोल भनेको ६ हो । यो भुटानविरुद्ध नै सम्भव भएको थियो । त्यो प्रतियोगिता भने सन् २०१६ को चौथो साफ च्याम्पियनसिप थियो । यो आयोजना भएको थियो भारतको सिलिगुढीमा । नेपाल त्यसमा ८–० ले विजयी भएको थियो । अब प्रश्न हुनसक्छ, ती प्रत्येक गोलको समय कति होला ? यसको जवाफ ५, ९, २३, ३५, ७२ र ७७ औं मिनेट । सावित्राको पहिलो ह्याट्रिक पनि यही हो । 

अन्य गोल वर्षा

सावित्राले एकै खेलमा धेरै गोल गरेको यो नै एकमात्र उदाहरण पनि होइन । उनले माल्दिभ्सविरुद्ध ५, इराकविरुद्ध ५, किर्गिस्तानविरुद्ध ४, लाओसविरुद्ध ४ गोल गरेकी छन् । भुटानविरुद्धको ६ गोलको प्रदर्शनलाई एकै ह्याट्रिक मान्ने हो भने त्यसलाई समेत जोडेर अहिलेसम्म उनले सातपल्ट तीन वा त्यो भन्दा बढी गोलको उपलब्धिी हासिल गरेकी छन् । त्यसमध्ये दुई ह्याट्रिक माल्दिभ्सविरुद्ध छ । 

सय गोलको लक्ष्यमा

सावित्रालाई अब एउटा प्रश्न सोध्ने बेला आएको छ । के उनमा १०० गोल गर्ने लक्ष्य छिन् त ? सम्भवतः उनले भन्ने छिन्, व्यक्तिगत गोलभन्दा टिमको सफलता नै ठूलो हो । तर उनको मनको कुनै कुनामा सय गोलको उपलब्धि छुने लोभ त होला नै ।

र, यो असम्भव पनि छैन । सावित्राले यही औसतले गोल गर्दै जाने हो भने अबको ३० खेलसम्म उनले यो कोसेढुंगामा पुग्नेछन् । त्यसका लागि अझै ५–६ वर्ष खेल्नुपर्नेछ ।

हिमेश

Link copied successfully