थोमस ड्राका २०२५ को इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा नाम दर्ता गर्न सफल एकमात्र इटालियन खेलाडी हुन् ।
काठमाडौँ — लुम्बिनी लायन्सले आसन्न एनपीएलका लागि इटालीका तीव्र गतिका बलर थोमस ड्राकालाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
सन् २०१९ मा इटालीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले क्यानडामा आयोजित ग्लोबल टी–२० लिगमा र्ब्याम्पटन वुल्भ्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २०२३ को टी–२० विश्वकप छनोटमा पनि उनले प्रभावशाली प्रदर्शन गर्दै टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सर्वाधिक विकेट लिने खेलाडीमध्ये एक बनेका थिए । उनी २०२५ को इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा नाम दर्ता गर्न सफल एकमात्र इटालियन खेलाडी हुन् ।
उनको आगमनले टिममा थप उत्साह र प्रतिस्पर्धात्मक भावना थपिने अपेक्षा गरिएको लुम्बिनी लायन्सले जनाएको छ । यसअघि लुम्बिनीले पहिलो विदेशी खेलाडीमा अस्ट्रेलियाका डार्सी सर्टलाई अनुबन्ध गरेको थियो ।
