काठमान्डु गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस

दक्षिण अफ्रिकाका पूर्व यु–१९ खेलाडी रिकार्डो काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन्, जहाँ उनले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको समृद्ध अनुभव ल्याउनेछन्।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Ricardo Vasconcelos in Kathmandu Gorkhas

What you should know

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् ।

सोमबार आफ्नो २८औं जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा बोल्यान्डबाट प्रथम श्रेणी क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।

रिकार्डो पछिल्ला वर्षहरूमा इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । नर्थह्याम्पटनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्टमा समेत खेलिरहेका छन् । साथै उनी उक्त टोलीका कप्तान पनि रहेका थिए । दुई महिना अघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १५ खेलमा १४२ माथिको स्ट्राइक रेटमा ३ सय ४२ रन बनाएका थिए । भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेटमा १ हजार ४४६ रन बनाइसकेका छन् ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाज रिकार्डोको अनुबन्धलाई लिएर निकै उत्साहित छ । मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको काठमान्डु गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई लिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाजले खेल्नेछ । टोलीका प्रशिक्षक वसन्त शाही रहेका छन् ।

कान्तिपुर

Link copied successfully