भारतलाई भारतमै हराउने अवसर

नेपाल एक गोलले पछाडि परेर पनि फाइनल प्रवेशका लागि भारतलाई टाइब्रेकरमा हराएको थियो ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

An opportunity to defeat India in India.

What you should know

काठमाडौँ — थ्री नेसन्स कपमा इरानविरुद्ध नेपाली महिला फुटबल टोलीको प्रदर्शन निराशाजनक थियो । भारतको सिलोङमा भएको खेलमा नेपाल इरानसँग ३–० ले पराजित रह्यो ।

इरान त्यही टिम हो जसलाई नेपालले २०१९ को वुमेन्स गोल्डकपमा ३–० ले हराएको थियो । त्यसको ६ वर्षयता इरानी फुटबलले ठूलो छलाङ मारिसकेको छ ।

इरान अबको एसिया कपमा छनोट हुन्छ भने त्यसलाई प्रगति नमानेर के मान्ने त ? ‘हामीले इरानविरुद्धको खेलबाट ठूलो शिक्षा लिएका छौं,’ नेपाली टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले यस्तै भनेका छन् । यो अलिकति निराशाजनक भनाइ नै हो, हारको टिमले प्रायः भन्ने यस्तै हो । उनी अहिले यही थ्री नेसन्स कपमा मात्र रुमल्लिएर बस्न चाहँदैनन्, उनको नजर भविष्यतिरै छ ।

उनले भारत पुगेर के पनि भनिसकेका छन् भने आफूहरूको योजना त लामै समयका लागि हो । कम्तीमा अबको वुमेन्स साफ च्याम्पियनसिपका लागि । इरानविरुद्धको हारपछि टिमको मात्र होइन, उनकै पनि आलोचना सुरु भइसकेको छ । यति भन्दाभन्दै पनि एउटा तथ्य के निश्चित छ भने स्थिति जस्तै हो, जति–जति बेला नेपालले भारतको सामना गर्छ, कुरा बेग्लै हुन्छ, कुरा विशेष हुन्छ ।

अचेल महिला फुटबलमा यो बढी लागू हुन्छ । एक वर्ष अगाडि दशरथ रंगशालामै भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको सेमिफाइनल आखिरमा कसले मात्र भुल्न सक्छ र ? नेपाल एक गोलले पछाडि परेर पनि फाइनल प्रवेशका लागि भारतलाई टाइब्रेकरमा हराएको थियो । त्यसमा नेपालका लागि गोल गर्ने खेलाडी थिए, तिनै सावित्रा भण्डारी ।

गोलपछिको उनको त्यो ‘आइकोनिक सेलेब्रेसन’ अझ कसले पो भुल्न सक्छ र ? त्यही खेलपछि उनलाई सोधिएको थियो, ‘के यो साम्बाका लागि अहिलेसम्मकै सबैभन्दा खुसीको अवसर हो त ?’ सावित्राले त्यसको उत्तरमा हो माथि हो भनिन् । बरु भनिन्, ‘त्योभन्दा भारतलाई भारतकै हराउँदाको क्षण अझ बढी महत्त्वको थियो । भलै भारतलाई नेपाली भूमिका हराउँदा पनि त्यसको महत्त्व उस्तै छ ।’

सावित्राले बढी महत्त्व दिन खोजेको जित भने त्यही सन् २०१९ मै निस्केको थियो, त्यही वुमेन्स गोल्डकपमा । लिग चरणको खेलमा नेपालले भारतलाई भुवनेश्वरमा २–१ ले हराएको थियो । ‘कम्तीमा व्यक्तिगत रूपमा म यही जितलाई ठूलो मान्छु । मैले यो कुरा दोहोर्‍याएर भनिरहेकी छु,’ सावित्रा भन्थिन् । हुन पनि अन्तर्राष्ट्रिय नेपाली महिला फुटबलले चार दशक छुन लाग्दा त्यो जित आफैंमा ऐतिहासिक रहेको छ ।

महिला फुटबलमा नेपालले भारतलाई हराएको भनेकै त्यो पहिलो पटक थियो । यस्तोमा नेपालसामु फेरि एकपल्ट अवसर तयार भएको छ, भारतलाई भारतमै हराउने । नेपालले सन् २०१० देखि भारतविरुद्ध खेल्न सुरु गरेको थियो । पहिलो जितका लागि ९ वर्ष कुर्नुपरेको थियो । त्यसको अगाडि र पछाडि गरेर नेपालले भारतविरुद्ध ६ फाइनल पनि खेलिसकेको छ र प्रत्येकपल्ट हारेको पनि छ ।

फेरि एकपल्ट पछाडि फर्केर हेर्ने हो भने नेपाल र भारतबीच अहिलेसम्म १८ खेल भएका छन् । त्यसमध्ये भारतले ११ खेल जितेको छ, चार खेल बराबरीमा टुंगेका छन् भने तीन खेलमा नेपाल विजयी रहेको छ । सबैभन्दा महत्त्वपूर्ण तथ्य के भन्दा नेपाल भारतविरुद्धका पछिल्ला चार खेलमा अपराजित छ । यी खेलमा दुई बराबरीमा टुंगेका थिए भने दुई खेलमा नेपाल विजयी रहेको थियो । नेपालले भारतविरुद्ध ती १८ खेलमा जम्मा १२ गोल गरेको छ र त्यसमध्ये आठ गोल त सावित्रा एक्लैले गरेकी छन् । त्यस अर्थमा पनि सावित्रामाथि यसपल्ट पनि गोलको अपेक्षा हुनेछ । अर्को तथ्य त के पनि छ भने नेपालले भारतसँग उसकै भूमिमा ६ पल्ट खेलेको छ । त्यसमा नेपालले एकपल्ट जितेको छ, तीनपल्ट बराबरी भएको छ भने दुईपल्ट भारतविरुद्ध रहेको छ ।

त्यसमा सावित्राले पाँच गोल गरेकी छन् । सिलोङमै नेपालले भारतको सामना गर्न लागेको भने यो तेस्रोपल्ट हो । सन् २०१६ को दक्षिण एसियाली खेलकुदको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । फाइनलमा नेपालको भेट भारतसँगै भएको थियो । तर त्यसमा नेपाल नमज्जाले ५–० ले पराजित रह्यो । यो भारतविरुद्ध दोस्रो ठूलो हार हो । नेपालसामु अब त्यसको बदला लिने अवसर पनि हुनेछ, यसपल्ट ।

'हामी सकारात्मक सन्देश दिन चाहन्छौं'

नेपाल प्रतियोगिताको दोस्रो खेलमा सोमबार भारतको सामना गर्न लागेको हो र त्यसको पूर्वसन्ध्यामा नेपाली टिमले जवाहरलाल नेहरू स्टेडियममा अभ्यास पनि गरेको थियो । त्यही अवसरमा नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले तयारी राम्रो भएको बताएका छन् । उनले भनेका छन्, ‘तयारी धेरै राम्रै छ । पहिलो खेल लामो दूरीको यात्राले प्रभावित रह्यो ।’

उनले थपे, ‘इरानविरुद्ध दोस्रो हाफमा खेलाडी थाकेको देखियो । अब भने हामी यहाँको स्थितिअनुसार मिलिसकेका छौं । भारत हाम्रा लागि जहिले पनि राम्रो प्रतिद्वन्द्वी हो । त्यसमा हामी प्रत्येक सेकेन्ड खेलमा ध्यान राखेर जितका लागि खेल्नेछौं । इरानविरुद्धको हारलाई परिपूर्ति गर्ने किसिमले खेल्नेछौं । इरानले उपाधि जितिसकेको भए तापनि हामी तीन अंकसँगै सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौं ।

त्यस अभ्यास सत्रपछि सावित्रा पनि खुसी देखिइन् । उलने भनिन्, ‘इरानविरुद्धको खेलमा भएका भूललाई सच्याएर भारतविरुद्ध खेल्नेछौं । यो दक्षिण एसियाली फुटबलमा प्रतिष्ठाको लडाइँ हो । त्यसका लागि हामी तयार छौं । हामीले जित्नकै लागि खेल्ने हो । भारत एसिया कपका लागि छनोट भइसकेको छ । त्यसैले उनीहरूको उत्साह बढी छ । भारतीय टिमपछाडि घरेलु दर्शक पनि हुनेछन् । यो भने उनीहरूका लागि फाइदा हो । भारतीय टिम राम्रै छ ।’ 

कान्तिपुर

Link copied successfully