नेपाल र अमेरिकाबीचको प्रतिस्पर्धामा चर्चा स्टुवार्ट ल र पुबुदुको

नेपाल र अमेरिकाको भन्दा बढी चर्चा प्रशिक्षकद्वय स्टुवार्ट ल र पुबुदु दासानायकेको छ । यी दुवै यसअघि अमेरिकाको प्रशिक्षक रहिसकेका छन् । तर पुबुदुको नेपालसँग सामीप्यता निकै गाढा छ । सम्भवतः नेपालका प्रशिक्षक ल भन्दा बढी पुबुदु नेपाली क्रिकेटका बारेमा जानकार छन् ।

कार्तिक ९, २०८२

विनोद पाण्डे

Stuart Law and Pubudu discuss the competition between Nepal and America

What you should know

काठमाडौँ — नेपाल र अमेरिकाबीच क्रिकेटको प्रतिद्वन्द्वता निकै बाक्लो छ । विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आइतबार यूएईको दुबईमा सुरु हुँदा चर्चामा भने यी दुई टोलीका प्रशिक्षकको हुनेछ । नेपाल र अमेरिकासहित घरेलु टोली यूएईले यो शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । 

दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो दिनको खेलमा नेपाल र अमेरिका आमने सामने गर्नेछन् । नेपाल र अमेरिकाको भन्दा बढी चर्चा प्रशिक्षकद्वय स्टुवार्ट ल र पुबुदु दासानायकेको छ । यी दुवै यसअघि अमेरिकाको प्रशिक्षक रहिसकेका छन् । तर पुबुदुको नेपालसँग सामीप्यता निकै गाढा छ । सम्भवतः नेपालका प्रशिक्षक ल भन्दा बढी पुबुदु नेपाली क्रिकेटका बारेमा जानकार छन् । 

पुबुदु दुई फरक समयमा नेपालको प्रशिक्षक र अर्को दुई फरक समयमा नेपालको परामर्शदाता प्रशिक्षकका रूपमा रहे । सन् २०११ मा उनी पहिलो पटक नेपालको प्रशिक्षकका रूपमा आएका थिए र यही क्रममा नेपालले पहिलो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । दोस्रो पटक उनी २०२१ को अन्तिममा नेपालको प्रशिक्षक बन्न आइपुगे, तर उनको यो कार्यकाल ६ महिनामै टुंगिएको थियो । 

गत वर्ष नेपालको क्यानडा भ्रमणमा भएको लिग २ मा पुबुदु ओमानको परामर्शदाता प्रशिक्षक थिए, जहाँ नेपालले एउटै खेल जित्न सकेको थिएन । लिग २ मा खेलिरहेका ८ टोलीमध्ये पुबुदुले चार राष्ट्रलाई प्रशिक्षण दिइसकेका छन् । नेपाल र अमेरिकाबाहेक उनी दुई पटक क्यानडाको पनि प्रशिक्षक भइसकेका छन् । 

पुबुदुको नेपालसँगको सम्बन्ध यतिमै सीमित छैन । गत वर्ष आयोजना भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट पनि पुबुदुकै प्रशिक्षणमा रहेको जनकपुर बोल्ट्सले जितेको थियो । नेपाली क्रिकेटको प्रगतिमा सबैभन्दा बढी खुसी हुने पनि उनी नै हुन् । तर आइतबार नेपालसँग सामना गर्दा उनलाई त्यो छुट हुनेछैन । 

अस्ट्रेलियाका ल गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा अमेरिकाको प्रशिक्षक थिए । पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लको प्रशिक्षणमा अमेरिका सुपर ‘एट’ को पुगेको थियो । उनी नेपालको प्रशिक्षक भएर आएको यो सातौं महिना चल्दै छ । तर यति छोटो समयमै नेपाली क्रिकेटले निकै ठूलो सफलता हात पारिसकेको छ । 

निकै कठिन मानिएको स्कटल्यान्ड भ्रमणमा लको प्रशिक्षणमा नेपालले नेदरल्यान्ड्स र घरेलु टोली स्कटल्यान्डसँगको चारमध्येको तीन खेल जितेको थियो । यसले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने नेपालको प्रयासमा ठूलो टेवा पुगेको थियो । जितबाहेक नेपाली खेलाडीको प्रदर्शन पनि उच्चस्तरको रहेको थियो । 

लकै प्रशिक्षणमा नेपालले गत महिना दुई ठूला सफलता हात पारेको थियो । नेपालले यूएईको शारजहाँमा वेस्ट इन्डिजविरुद्धको ३ खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २–१ को सफलता हात पारेको थियो । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दा नै नेपालले यो सफलता हात पारेको थियो ।

Stuart Law and Pubudu discuss the competition between Nepal and Americaलगत्तै नेपालले ओमानमा गएर ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट जित्दै तेस्रो पटक विश्वकपमा पुगेको थियो । यसले लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गतको प्रतियोगितामा नेपालको खडेरी यात्रालाई पनि तोडेको थियो । २०१८ को अक्टोबरमा मलेसियामा ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि आयोजित इस्टर्न क्षेत्रीय प्रतियोगिता जितेयता नेपालको यो पहिलो उपाधि थियो । 

पुबुदु कठिन समयमा पनि टिमलाई उकास्न माहिर छन् । आईसीसीले गत महिना अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो । आईसीसीले पटकपटक सुधारका लागि चेतावनी दिँदा पनि अमेरिकी क्रिकेट बोर्डले त्यसको सुनुवाइ नगरेपछि निलम्बन गरेको थियो । तर टोलीले भने प्रतियोगिता खेल्न पाउनेछ । त्यसयता अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । 

लको प्रशिक्षणमा आरिफ शेख र भीम सार्कीले एकदिवसीय संरचनामा राम्रो खेल्दै आएका छन् । आरिफ ओमानमा भएको ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट टोलीमा रहेका थिए । भीम भने लिग २ का लागि यूएई पुगेका हुन् । ओमान नगएको टोलीबाट भीम, अनिल साह र साहव आलमलाई समावेश गर्दै नेपालले १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । 

मोनाक पटेलको कप्तानीमा रहेको अमेरिकी टोलीमा आन्द्रेज गाउस, सञ्जय कृष्णमुर्थी, सौरभ नेत्राभाल्कर, समित पटेल र मिलिन्द कुमारजस्ता खेलाडी रहेको छ । अमेरिका २० खेलमा २८ अंक लिएर लिग २ को अंक तालिकामा दोस्रो स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३० अंक जोडि शीर्ष स्थानमा छ । नेपाल १६ खेल खेली १२ अंकसहित सातौं स्थानमा छ । यूएई १३ खेलमा ६ अंक जोडी पुछारमा रहेको छ । 

नेपालका खेलहरू

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully