फितलो ब्याटिङपछि नेपालको अमेरिकासँग हार

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य लिएर आएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Nepal loses to USA after poor batting

What you should know

काठमाडौँ — अमेरिकाले विश्वकप लिग २ क्रिकेटमा आइतबार नेपाललाई १ सय ६ रनले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य लिएर आएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो ।

यस जितसँगै अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लेको छ । अमेरिकाले २१ खेलमा ३० अंक जोडेको छ । स्कटल्यान्डको २४ खेलमा ३० अंक भए पनि अमेरिकाभन्दा नेट रन रेटमा पछाडि छ । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १७ खेलमा १२ अंक जोडी सातौं स्थानमा छ ।

ठूलो लक्ष्य लिएर आएको नेपालले राम्रो सुरुआत गर्न सकेन । कुशल भुर्तेल इनिङ्सको दोस्रो बलमै आउट भए । रुशी उगारकरले कुशललाई विकेटको पछाडि क्याच गराए । आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटमा ६९ रन जोडेर नेपालको स्थितिलाई सुधार्ने प्रयास गरेका थिए ।

शुभम रन्जनेले भीमलाई २९ रनमा बोल्ड गरे । भीमले ५० बल खेली २ चौका र १ छक्का प्रहार गरे । दुई बलपछि हरमित सिंहले आसिफलाई आउट गरी नेपाललाई खेलमा फर्किने सम्भावना नै कमजोर बनाइदिए । आसिफले ३९ बल खेली ४ चौका र १ छक्काका साथ ३७ रन बनाए ।

कप्तान रोहित पौडेल २ रनमै आउट भए । आरिफ शेख २० रन बनाई आउट भए । उनले २७ बल खेली २ चौका प्रहार गरे । त्यसपछि देब्रेहाते स्पिनर हरमितले तल्लो सबै ५ विकेट लिए । उनले ८.१ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर कुल ६ विकेट लिए । उनले गुलशन झालाई ३, सोमपाल कामीलाई ११, करण केसीलाई २ र सन्दीप लामिछानेलाई शून्यमा आउट गरे ।

दीपेन्द्रसिंह ऐरी आउट हुने अन्तिम खेलाडी थिए । हरमितको वाइड बलमा उनी स्टम्प आउट भए । दीपेन्द्रले सर्वाधिक ४० रन बनाए । उनले ६० बल खेली ३ चौका प्रहार गरे । हरमित बाहेक अमेरिकाबाट रन्जनेले २ र उगारकरले १ विकेट लिए ।

यसअघि मिलिन्द कुमारले खेलको अन्त्यमा आक्रामक अर्धशतक बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभर खेलि ६ विकेट गुमाई २ सय ६२ रन बनाएको हो । लिग २ को यात्रामा सानदार प्रदर्शन गर्दै आएका मिलिन्दले ५० बलमा अविजित ७० रन बनाए । जसको कारण अमेरिकाले अन्तिम ५ ओभरमा ५१ रन बनाएको थियो । मिलिन्दले ६ चौका र २ छक्का प्रहार गरे । उनीसँगै अविजित रहेका हरमितले ६ बलमा २ छक्कासहित अविजित १६ रन बनाए ।

आन्द्रेज गाउस र स्मित पटेलले अमेरिकालाई संयम सुरुआत दिलाउन खोजेका थिए । गाउस २९ बलमा ११ रन बनाई ८ औं ओभरमा आउट भए, जति खेर अमेरिकाको कुल स्कोर १७ रन थियो । कप्तान मोनाक पटेललाई आरिफले १० रनमा एलबीडब्लु आउट गरे ।

स्मित र साइतेजा मुकामल्लाले तेस्रो विकेटमा ९५ रन जोडेर अमेरिकाको स्थितिलाई सुदृढ बनाए । स्मित १ सय बल खेलि ९ चौका प्रहार गरी ७५ रन बनाएर एलबीडब्लु आउट भए । मुकामल्लाले ५८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ४२ रन बनाए । सायन जहागिर ११ र सुभम रन्जने १९ रनमा आउट भए । नेपालबाट सन्दीपले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । त्यस्तै सोमपाल, आरिफ र दीपेन्द्रले १–१ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully