बोरुसिया मोन्चेनग्लाडबाखलाई हराएसँगै बायर्नले सन् १९९२–१९९३ को सिजन एसी मिलानले लगातार १३ खेल जितेर गरेको प्रदर्शन बराबरी गरेको छ
काठमाडौँ — बायर्न म्युनिकले युरोपेली क्लब फुटबलमा लगातार जितको कीर्तिमान बराबरी गरेको छ र यसक्रममा शनिबार जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाखलाई ३–० ले हराएको छ ।
दस खेलाडीमा सीमित मोन्नचेनग्लाडबाखविरुद्ध जोसुआ किमिच, रोफेल गुरेरो र लेनार्ट कार्लले गोल गरे । यो सिजन सबै खाले प्रतियोगितामा यो बायर्नको लगातार १३ औं जित हो ।
यससँगै बायर्नले सन् १९९२–१९९३ को सिजन एसी मिलानले लगातार १३ खेल जितेर गरेको प्रदर्शन बराबरी गरेको हो । शनिबारका अन्य खेलमा बोरुसिया डर्टमुन्डले कोलोनालाई १–० ले हरायो । यस्तै आरबी लाइपजिगले असबर्गलाई ६–० ले हरायो ।
