नेपालगन्ज म्याराथनको तयारी तीव्र

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएको नेपालको पहिलो रनिङ इभेन्ट नेपालगन्ज म्याराथनमा यस वर्ष दर्ता खुला गरिसकेको छ ।

कार्तिक ४, २०८२

रुपा गहतराज

Preparations for Nepalgunj Marathon intensify

What you should know

नेपालगन्ज — एघार वर्षदेखि निरन्तर मंसिर पहिलो शनिबार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । यस वर्षदेखि आयोजकले सद्भावना दूत बनाएर इभेन्टको प्रवर्द्धन गर्ने प्रयासमा छ । 

यो वर्ष मिस नेपाल वर्ल्ड २०१० श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्याका जोन केलाई सद्भावना दूत नियुक्त गरेर तयारीलाई तीव्र बनाएको छ । मंसिर ६ गते शनिबार ११ औं संस्करण हुनेछ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएको नेपालको पहिलो रनिङ इभेन्ट नेपालगन्ज म्याराथनमा यस वर्ष दर्ता खुला गरिसकेको छ ।

पहिलो पटक पुरुषतर्फको हाफ म्याराथन पनि थप गरिएको छ । यस वर्ष पुरुष खुल्ला ४२ किलोमिटर, हाफ म्याराथन पुरुष तथा महिला खुल्ला, १० किमि पुरुष तथा महिला खुल्ला, ५ किमि स्कुल छात्र छात्रा खुल्ला, ५ किमि बाँके जिल्ला स्तरीय स्कुल स्तर छात्र एवं छात्रा, ३ किमि कर्पोरेट, ३ किमि किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ३ किमि अभिभावक रन, ३ किमि ह्वीलचेयर रेस समावेश गरिएको छ । प्रतियोगितामा ४२ किमि, २१ किमि र १० किमितर्फ शीर्ष दस जनालाई, ५ किमितर्फ शीर्ष पाँच जनालाई र ३ किमितर्फ शीर्ष तीन जनालाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले घोषणा गरेको छ । 

सहभागिता संख्याका आधारमा शीर्ष दसलाई प्रदान गरिने नगद पुरस्कार रकम सार्वजनिक गर्ने तयारी आयोजकको छ । गत वर्षभन्दा नगद राशि नघट्ने गरी तयारी अगाडि बढाइएको रेस निर्देशक चन्द्रबहादुर गुरुङले बताए । संसारकै चासो रहने म्याराथन इभेन्ट बनाउन सबैले उत्साहजनक सहभागिता र समयमै दर्ता गर्न गुरुङले आग्रह पनि गरे । 

‘हरेक बाधा अवरोध पन्छाई कुनै पनि वर्ष नरोकिई आयोजना भइरहेको सम्भवतः नेपालगन्ज म्याराथन नै हो,’ गुरुङले भने–‘यसले नेपालका शीर्ष खेलाडीहरूमा विश्वास जगाएको छ, अन्तर्राष्ट्रिय समुदायमाझ पनि यसको विश्वसनीयता बढ्दो छ, अब स्थानीयमा थप जागरुकता आउन जरुरी छ ।’ 

नेपालगन्ज म्याराथनसँगै नेपालगन्ज १० नाइट रनले एम्सको पूर्णकालीन सदस्यता प्राप्त गरेपछि एम्सको दुईवटा सदस्यता लिने नेपालगन्ज नेपालको एकमात्र सहर भन्न पाउँदा गर्वको अनुभूति हुने लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भीम ओलीले बताए । ‘यसले सहरको अलग परिचय स्थापित गर्न थप सघाउने अपेक्षा गरिन्छ ।’ आठौं बृहत् राष्ट्रिय खेलकुद आयोजनाका बेला साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका ओलीले भने, ‘हामीले सुरु गरेको नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगत्मै बेग्लै पहिचान स्थान बनाउन सफल भएको पाउँदा साँच्चिकै गर्व लाग्छ, अब आयोजक विशेषको मुख ताक्ने मात्र हैन, सम्पूर्ण स्थानीय जुरुक्कै उठ्ने बेला भएको छ ।’ 

नेपालगन्ज म्याराथनकै पहलमा विश्व म्याराथन( एम्स) का अध्यक्ष पाको बोराओले गत जेठमा नेपालगन्ज म्याराथनको रुट अवलोकन गरेका थिए । हालै कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता, सिंगापुर, टोरन्टो, ब्रसेल्स, मुम्बई लगायत विश्वप्रतिष्ठित म्याराथन जित्न सफल केन्या निवासी जोन केलाइले पनि नेपालगन्ज भ्रमण गरे । 

नेपालगन्ज म्याराथनकै अगुवाईमा एम्सको बोर्ड बैठक तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स गत जेठमा काठमाडौंमा आयोजना गरिएको थियो । इन्टरनेसनल कन्फ्रेन्स हरेक बर्ष आयोजना गर्ने आयोजकको तयारी छ ।

देशमा दस वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएर नयाँ संविधान घोषणा गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगन्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो । हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेसा, व्यवसाय र उमेर समूहलाई एकैपटक एकै थलोमा एउटै भूमिकामा दौडमार्फत ल्याउन सक्ने एकमात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो । 

एम्सको दुई इभेन्ट पूर्णकालीन सदस्यता प्राप्त गर्ने नेपालगन्ज सम्भवतः नेपालको एकमात्र सहर हो । म्याराथनको पूर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेभ पनि गरिँदै आएको छ । म्याराथन अघि गरिने तयारी कार्यक्रमअन्तर्गत गौघाट ग्रीन रन बाँकेको खजुरामा असोज २८ गते सम्पन्न गरिसकेको छ । राप्तीसोनरी नेचर रन सञ्चालन गर्ने तयारी गरेको छ । देशको विषम परिस्थितिका कारण असोज ३ गते हुने नेपालगन्ज १० नाइट रन भने स्थगित गरिएको छ । मंसिर ६ को इभेन्टपछि नाइट रनको मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully