चैनपुर जेसिज मनहरी कपको उपाधि मकवानपुरगढी जेसिजलाई 

मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई र पटिहानी इभेन्ट्सले गुरुशिष्य पाठशालालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

कार्तिक २, २०८२

प्रताप विष्ट

Chainpur Jaycees win Manahari Cup title against Makawanpurgadhi Jaycees

What you should know

हेटौंडा — तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरगढी जेसीजले हात पारेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा चितवनको पटिहानी इभेन्ट्सलाई २–० ले हराउँदै मकवानपुरगढी जेसीजले लगातार दोस्रो वर्ष पनि उपाधि जितेको हो ।

जेसीजका लागि दशौं मिनेटमा गौरव महर्जनले फ्रि–किकमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा समीप ढकालले अग्रता दोब्बर बनाए । बाँकी समय गोल हुन नसकेपछि जेसीजले २–० को जित पक्का गरेको हो ।

मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई र पटिहानी इभेन्ट्सले गुरुशिष्य पाठशालालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको विजेता मकवानपुरगढी जेसीजले एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गरेको थियो । पटिहानी इभेन्ट्सले ५१ हजार १५१ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच मकवानपुरगढी जेसीजका समीप ढकाल भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पटिहानी इभेन्ट्सका रोशन दोङ घोषित हुँदा उत्कृष्ट गोलरक्षक मकवानपुरगढी जेसीजका अस्रफ शेख, डिफेन्स जेसीजकै कुमार लामा, मिडफिल्डर पटिहानीका सामुयल सुनार, फरवार्ड जेसीजका गणेश हमाल, प्रशिक्षक जेसीजकै भरतमोहन देवकोटा र सर्वाधिक गोलकर्ता गुरुशिष्य पाठशालाका अभिषेक भोलन घोषित भए ।

सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पारेका थिए भने विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता, उपविजेता तथा विधागत उत्कृष्टलाई कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकाल, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापालगायतले नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully