सामोआविरुद्ध विशाल स्कोर बनाएसँगै नेपाल उपाधितर्फ

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएर उपाधितर्फ लम्किएको हो ।

आश्विन ३१, २०८२

विनोद पाण्डे

Nepal heads towards title after scoring a huge score against Samoa

What you should know

काठमाडौँ — नेपालले ट्वान्टी–२० एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआलाई २ सय १२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएर उपाधितर्फ लम्किएको हो ।

नेपालले यो खेल जिते उपाधि जित्ने निश्चित हुनेछ  सुपर सिक्सको यसअघिका तीन खेल जितेर ८ अंकसहित नेपालले यसअघि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको छ ।

नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । ओमानको ८ र यूएईको ६ अंक छ । नेपालले सामोआलाई पराजित गरेमा ओमानलाई २ अंकले पछाडि पार्नेछ ।

आसिफ शेख र कुशल भुर्तेलले पावर प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । भुर्तेल १५ बल खेली २ चौका र १ छक्कासहित १७ रन बनाई आउट भए । आसिफले ६९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । अघिल्लो महिना उनले शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए ।

आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाई आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । कप्तान रोहित पौडेल ११ बल खेली समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बल खेली २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहे । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully