मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको साथ रहने भएको हो ।
What you should know
नेपालगन्ज — नेपालगन्जमा हुने लुम्बिनी स्पोर्ट्स अवार्डलाई स्पोर्ट्स ब्रान्ड केल्मीले सहप्रायोजन गर्ने भएको छ ।
मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको साथ रहने भएको हो । बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदानप्रदान गरे ।
खेलाडी र खेलकर्मी उपलब्धिलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोटर््स अवार्डमा जोडिन पाउँदा खुसी लागेको केल्मीले थपलियाले बताइन् ।
रंगशाला नेपाल मिडिया प्रालिले आयोजना गर्ने लुम्बिनी स्पोर्ट्स अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ । २०७३ सालमा स्थापित रंगशाला नेपालले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।
खेलकुद क्षेत्रमा ख्याति कमाएको ब्रान्ड केल्मीसाग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्टस अवार्ड संयोजक शाहले बताइन् ।
अवार्डमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलतालाई आधार मानेर अवार्ड प्रदान गरिनेछ । ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउन निकै थोरै कार्यक्रम हुने गरेका छन् । हामीले खेलकुदमा आफ्नो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीको हौसला बढाउन यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं,’ संयोजक शाहले भनिन् । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिनेछ ।
