डिभिजन लिगको अन्योल कायमै

दुई दिनअघि प्रमुख ‘ए’ डिभिजन क्लबहरूले लिग आयोजना गर्न छुट्टै अधिकारसम्पन्न कमिटी गठनको माग गरेको थियो । त्यस्तै एक दिनअघि एन्फाकै केही प्रमुख पदाधिकारीले लिग नगर्ने हो भने नेतृत्वलाई राजीनामा दिन पनि चुनौती दिएका थिए ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Division League Confusion Continues

What you should know

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार त्यस्तो पत्रकार सम्मेलन गरेको छ, जसले प्रश्नलाई बढी अनुत्तरित पारेको छ । लिगमा केन्द्रित रहेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा महासचिव किरण राईले सहिद स्मारक लिग ‘ए’ डिभिजन यही दिन हुनेछ भनेर भन्न सकेनन् । तर, एउटा विश्वास भने दिलाए, ‘ढिला भए पनि अब राम्रो लिग हुनेछ ।’ 

दुई दिनअघि प्रमुख ‘ए’ डिभिजन क्लबहरूले लिग आयोजना गर्न छुट्टै अधिकारसम्पन्न कमिटी गठनको माग गरेको थियो । त्यस्तै एक दिनअघि एन्फाकै केही प्रमुख पदाधिकारीले लिग नगर्ने हो भने नेतृत्वलाई राजीनामा दिन पनि चुनौती दिएका थिए । यसबीच केही फुटबल प्रशंसकले एन्फा कम्प्लेक्सकै अगाडि नै विरोध पनि प्रदर्शन गरे । प्रदर्शनको कारण लामो समयदेखि लिग फुटबल नभएको नै थियो । 

यसै पृष्ठभूमिमा मंगलबार मिडियाको सामना गर्दै महासचिव राईले भने, ‘हाम्रो उद्देश्य क्लबलाई सहयोग गर्ने नै हो, सहकार्य गर्ने नै हो । अबको लिग होम एन्ड अवेको आधारमा गर्ने भएपछि यसका लागि थप गृहकार्य आवश्यक छ । यसका लागि तिहारपछि हामी क्लबहरूसँग छलफलमा बस्नेछौं । यस्तोमा अब यो ढाँचाको लिग अर्को वर्ष मात्र हुनेछ । तर यसबीच हामी त्यसै चुप लागेर भने बस्ने छैनौं ।’

उनले अगाडि थपे, ‘त्यसकारण यसबीच अर्को लिगको आयोजना गर्नेछौं । यो टायर–वानकै लिग हुनेछ । तर कस्तो हुनेछ र कहिले हुनेछ, त्यसबारे निर्णय हुन बाँकी छ ।’ यस्तोमा अब चाँडै हुने लिग ‘ए’ डिभिजन नै हुन सक्नेछ या राष्ट्रिय लिग पनि हुन सक्नेछ । एन्फाको विधानले यी दुवै लिगलाई टायर–वान मानेको छ । पुस ९ मा लिग हुने घोषणा यसअघि नै भइसकेता पनि केही दिन तलमाथि हुन सक्ने बताइएको छ । 

‘यो लिग एसियाली फुटबल महासंघ (एएफसी) को नियमअनुसार ६ महिना लामो चल्नेछ र यसको विजेताले एएफसीको प्रतियोगिता पनि खेल्न पाउने छ,’ महासचिव राईले जानकारी गराए । लामो समयदेखि लिग नभएकामा नेपाली फुटबल प्रशंसकले देखाएको चिन्ताप्रति कृतज्ञता जनाउँदै महासचिवले भने, ‘राम्रै गृहकार्यपछि हामी होम एन्ड अवेको आधारमा अर्को वर्ष माथिल्लो स्तरको लिग गर्नेछौं ।’  

कान्तिपुर संवाददाता

Link copied successfully