दिनको खेलको दुई नतिजा आफू अनुकूल आएपछि नेपाल र ओमान बुधबार प्रतिस्पर्धामा उत्रिनुअगाडि नै विश्वकपमा पुगिसकेका छन् ।
What you should know
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको हो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।
कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।
नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्ला चारै विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।
आदिल आलम अन्सारीले १५ बल खेली ३ चौकासहित १६ रन बनाए । भूर्तेलले ५१ बलमा ६९ रन बनाए । १८ औं ओभरमा एलबीडब्लु आउट भएका भूर्तेलले ७ चौका र १ छक्का प्रहार गरे । १९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दन यादवले ४ बलमा १ छक्कासहित ९ रन बनाए । सोमपाल कामी १ रनमा अविजित रहे ।
ओमानबाट देव्रेहोत स्पिनर नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । सुफियान मेहबुबले ४ ओभरमा २९ र जितेन रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए ।
दिनको खेलको दुई नतिजा आफू अनुकूल आएपछि नेपाल र ओमान बुधबार मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कूल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए ।
यो खेल जित्ने टोलीले प्रतियोगिता जित्ने सम्भावना बलियो हुनेछ ।
