यस नतिजासँगै एसिया कप छनोटमा नेपालको चुनौती समाप्त भएको छ ।
काठमाडौँ — सुमन श्रेष्ठले आत्मघाती गोल गरेपछि नेपाल एसिया कप छनोट तेस्रो चरणको मंगलबारको खेलमा भियतनामसँग १–० ले पराजित भएको छ । हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा सुमनले बललाई पाँचौं मिनेटमा आफ्नो पोस्टको दिशा दिएका थिए ।
दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरको खेलमा भियतनाममा खेलेको हो । छनोटको समूह ‘एफ’ मा नेपालको यो लगातार चौथो हार हो र शून्य अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा छ । यस नतिजासँगै छनोटमा नेपालको चुनौती समाप्त भएको छ ।
यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।
