पाल्पाको रामपुरमा जारी 'तेस्रो ज्योतिपुञ्ज कप २०८२ राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता' मा भैरव स्पोर्टस् नवलपरासीलाई २–१ गोल अन्तरले पछि पार्दै ज्योतिपुञ्ज सेमिफाइनल प्रवेश गरेको हो ।
पाल्पा — पाल्पाको रामपुरमा जारी वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा आयोजक ज्योतिपुञ्ज युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
भैरव स्पोर्टस् क्लब नवलपरासीलाई २–१ गोल अन्तरले पछि पार्दै ज्योतिपुञ्ज सेमिफाइनल प्रवेश गरेको हो । खेलको ३६ औं मिनेटमा ज्योतिपुञ्जका सुजल डंगोलले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । डंगोलले ७५ औं मिनेटमा पुनः गोल थपेर टिमलाई बलियो बनाए । दुई गोल गरेका उनले प्लेयर अफ दि म्याच बन्दै नगद ३ हजार पाए ।
ज्योतिपुञ्जकै आशिष गुरुङले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर पाएका छन् ।
बुधबारको खेल युनाइटेड युथ क्लब गिरुबारी नवलपुर र सम्पूर्ण युथ क्लब तिलोत्तमा रुपन्देहीबीच हुनेछ । पाल्पाकै सर्वाधिक पुरस्कार राशीसहितको प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० समूहले भाग लिएका छन् । फाइनल खेल कात्तिक ३ गते हुने क्लबका खेल संयोजक अनिल शाही ठकुरीले बताए ।
