वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्यद्वय रविन चन्द र रुपेश अधिकारीले पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल ठूलो दुर्घटनातर्फ अग्रसर रहेको दाबी गरे ।
What you should know
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का केही प्रमुख पदाधिकारीले सोमबार नेपाली फुटबलको सर्वोच्च संस्थामा गम्भीर असन्तुष्टि जनाउँदै ‘अर्ली इलेक्सन’ को माग राखेका छन् । एन्फा नेतृत्वप्रति उनीहरूको आरोप हो, संवेदनशील घटनामा उदासीनता, सरोकारवालाको बेवास्ता, लिग सञ्चालनमा उदासीनता, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलता, अपारदर्शी आर्थिक गतिविधि र खेलाडी प्रोत्साहनमा कमी भएको छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्यद्वय रविन चन्द र रुपेश अधिकारीले पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल ठूलो दुर्घटनातर्फ अग्रसर रहेको दाबी गरे । उनीहरूले भनेका छन्, ‘वर्तमान एन्फा नेतृत्वले देखाएको कार्यशैलीप्रति हामी गम्भीर रूपमा निरास छौं । हाम्रा गुनासोप्रति सुनवाइ भइरहेको छैन । त्यसैले हामीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेका छौं ।’
‘पंकजविक्रम नेम्वाङले अध्यक्षका रूपमा काम गर्न सक्नु भएको छैन्, त्यसैले उहाँले राजीनामा दिनु पर्छ । हामीले पनि केही गर्न सकेनौं भने राजीनामा दिन्छौं । यस्तो भयो भने चाँडै निर्वाचन हुनेछ र त्यसबाट नयाँ नेतृत्व आउने छ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘एन्फाको मुख्य दायित्व भनेकै लिग नियमित सञ्चालन गर्नु हो, तर यस विषयमा नेतृत्वले चासो देखाएको छैन् ।’
उनले थपे, ‘लामो समयदेखि नियमित लिग नहुँदा खेलाडी खेल जीवनबाट पलायन भएर विदेश जान बाध्य भएका छन् । यसले नेपाली फुटबलको आधारभूत संरचनालाई नै कमजोर बनाएको छ । यस्तै दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल खेलाउन आवश्यक मापदण्ड योग्य बनाउन पनि एन्फा नेतृत्व असफल भएको छ । यसले अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने अवसर गुमेको छ ।’
‘नेतृत्व असक्षम हुँदा त्यसका सबै दोष हामीले भोग्नु परिरहेको छ । वर्तमान अवस्थामा हामी अध्यक्ष नेम्वाङ तथा महासचिव किरण राईलाई के विनम्र अनुरोध गर्न चाहन्छौं भने नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउनका लागि तपाईहरूले समयमै मार्ग प्रशस्त गर्नु होला,’ खड्काले भने । केही फुटबल समर्थकले आइतबार मात्रै सातदोबाटोको एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका थिए ।
यसैक्रममा सहिद स्मारक लिग ‘ए’ डिभिजन आवद्ध क्लबसँग एन्फाको बैठक पनि स्थगित गरिएको थियो । क्लबका प्रतिनिधि एन्फा कम्प्लेक्स नै पुगेर नेपाली फुटबलको नेतृत्व तह क्लबसँग वार्ताबाट भागिरहेको आरोप समेत लगाएका थिए । यसै परिस्थितिमा यो वर्ष ‘ए’ डिभिजन लिग आयोजना हुने सम्भावना कम भएको छ र यसले नेपाली घरेलु फुटबल संरचना अझ कमजोर हुनेछ ।
