दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि योग्य नभएपछि नेपाल भियतनाममै खेल्न बाध्य भएको हो । त्यसैले नेपालमाथि दोहोरो मार परेको छ ।
What you should know
काठमाडौँ — तीन खेलमध्ये तीनैमा हार । अंकविहीन हुँदै चार टिममध्ये सबैभन्दा पुछारमा । यही पृष्ठभूमिमा नेपालले एसिया कप छनोट तेस्रो चरणमा मंगलबार भियतनामको सामना गर्दै छ । खेल हुनेछ, भियतनामै होचि मिन सहरको थोङ न्हाट स्टेडियममा । यो तथ्य किन उल्लेखनीय छ भने खासमा यो खेल हुनुपर्ने नेपालमै हो ।
तर दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि योग्य नभएपछि नेपाल भियतनाममै खेल्न बाध्य भएको हो । त्यसैले नेपालमाथि दोहोरो मार परेको छ । तर यति भन्दाभन्दै पनि नेपालसामु यो खेलमा उत्साही भएर खेल्ने अवसर भने छ । त्यो हो, रोहित चन्दले आत्मसात् गर्न लागेको व्यक्तिगत कोसेढुंगा उपलब्धि ।
भियतनामविरुद्धको यो खेल नेपालका लागि उनको सय खेल हुनेछ । त्यसैले नेपाली टिमसामु रोहितका लागि यो खेल सुखद बनाउने अवसर हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रस पनि यो खेललाई लिएर उत्साही छन् भने सकारात्मक नतिजाप्रति पनि आशावादी छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पोस्टम्याच कन्फ्रेन्समा उनले भनेका छन्, ‘हामी मंगलबारको खेलका लागि उत्साही छौं । हामीले पछिल्लो खेलमा आफ्नो प्रदर्शनको विश्लेषण गरेका छौं । यसका आधारमा खेलमा सुधारको प्रयास गर्नेछौं । पक्कै पनि पछिल्लो हारमा हाम्रा सबै खेलाडी निराश छन्, जसरी टिमले गोल खाएको थियो ।’
उनले थपे, ‘तर यस हारमा पनि टिमले केही सकारात्मक प्रदर्शन गरेको थियो । हाम्रा खेलाडीको मानसिक प्रदर्शन उच्च थियो । त्यस खेलमा हामीले कहिले पनि हार मानेर खेलेनौं । यो निकै महत्त्वपूर्ण छ । त्यसैले दोस्रो खेल पनि प्रतिस्पर्धात्मक हुने विश्वास छ । हाम्रो उद्देश्य भियतनामविरुद्ध कठिनाइ सिर्जना गर्ने नै हुनेछ ।’ नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया ९ अंकसहित शीर्षस्थानमा छ ।
