अब पाहुना टिमको पहिलो उद्देश्य इनिङ्समा अग्रता लिने हुनेछ । ब्याटबाट केही बलियो जवाफ दिने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् ।
What you should know
दिल्ली — वेस्ट इन्डिजले आइतबार तेस्रो दिनको चिया सत्रपछि कुनै विकेट गुमाएन र उसले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा ब्याटबाट पुनः आगमन रच्दै दोस्रो इनिङ्समा दुई विकेटमा १ सय ७३ रन बनाएको छ । फलो–अन परेर लगातार ब्याटिङका लागि ओर्लेको वेस्ट इन्डिज अझै ९७ रनले पछाडि रहेको छ ।
अब पाहुना टिमको पहिलो उद्देश्य इनिङ्समा अग्रता लिने हुनेछ । ब्याटबाट केही बलियो जवाफ दिने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरिसकेका छन् । क्याम्पबेलले १ सय ४५ बलको सामना गरेर नौ चौका तथा दुई छक्का प्रहार गरेका छन् । यस्तै होपको १ सय ३ बलको इनिङ्समा आठ चौका र दुई छक्का सामेल छ । उनीहरू दिनको खेलको अन्त्यतिर भारतीय बलरलाई निराश पारे ।
यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । एलिक एथानजेले सर्वाधिक ४१ रन बनाए । होपले ३६ रनको योगदान गरे । नयाँदिल्लीको अरुण जेट्ली स्टेडियममा भारतका कुलदीप यादवले पाँच विकेट लिएर शानदार प्रदर्शन गरे । उनले यसका लागि ८२ रन मात्र खर्चे । रवीन्द्र जडेजाले ४६ रनमा तीन विकेट हात पारे ।
पाकिस्तानको बलियो सुरुआत
पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आइतबारदेखि लाहोरमा सुरु भएको पहिलो टेस्टको पहिलो दिन बलियो सुरुआत लिएको छ । पहिलो दिनको खेल समाप्त हुँदा पाकिस्तानले पाँच विकेट गुमाएर ३ सय १३ रन बनाएको छ । त्यसमा मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर क्रिजमा छन् ।
उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरे । त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानका लागि ओपनर इमान उल हकले ९३ र कप्तान सान मसुदले ७६ रन बनाएका थिए । उनीहरूले दोस्रो विकेटका लागि १ सय ६१ रनको साझेदारी गरे ।
उल हकले १ सय ५३ बलको इनिङ्समा सात चौका र एक छक्का प्रहार गरे । शतकको नजिक पुग्ने क्रममा उनी सेनुरन सुब्रयेनको बलमा आउट भए । सुब्रयेनले दुई विकेट लिएका छन् । मसुदले भने नौ चौका र एक छक्का प्रहार गरे ।
