पेलेलाई उछिने हालान्डले

अब उनी सबैभन्दा चाँडै ५० गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा उक्लेका छन् । पेलेले ५० गोलका लागि ४९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

आश्विन २७, २०८२

एएफपी

लन्डन — युरोपेली विश्वकप फुटबल छनोटमा नर्वेका लागि इर्लिङ हालान्डले शनिबार इजरायलविरुद्ध ह्याट्रिक गरे । यसै क्रममा उनको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा भएको छ । उनले पेलेको तुलनामा कम खेल खेल्दै यति धेरै गोल गरेका हुन् । हालान्डको खेल जीवनको तथ्यांक विश्लेषण गर्ने हो भने उनी अरू ठूलो नाम मानिएका खेलाडी अगाडि उनको प्रदर्शन उच्च रहेको छ ।

म्यानचेस्टर सिटीका लागि उनले यो सिजन नौ गोल गरिसकेका छन् । इजरायलविरुद्ध उनको दोस्रो गोल नै ५० औं थियो । त्यस अर्थमा ४६ खेल खेलेर उनले नर्वेका लागि ५१ गोल गरिसकेका छन् । यसै क्रममा उनी ५० गोलका लागि ५० भन्दा कम खेल्ने छैटौं पुरुष खेलाडी पनि भएका छन् । अझ सबैभन्दा महत्त्वको तथ्यांक के रहेको छ भने ५३ वर्षयता उनी यस्तो उपलब्धि चुम्ने पहिलो खेलाडी हुन् ।

अब उनी सबैभन्दा चाँडै ५० गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा उक्लेका छन् । पेलेले ५० गोलका लागि ४९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उमेर र खेलका आधारमा हालान्डको प्रदर्शन क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको तुलनामा अझ धेरै उच्च रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि ४६ खेल खेलेर १७ गोल गरेका थिए भने मेसीले यत्तिकै खेलमा अर्जेन्टिनाका लागि १३ गोल मात्र गरेका थिए ।

हालान्डको खुलेर प्रशंसा गर्दै साथी खेलाडी एलेक्जान्डर सोरलोथले भनेका छन्, ‘तपाईंलाई लाग्दो हो, हालान्डको खेल पनि हेरियो । तर होइन, उनको प्रदर्शनमा अझ धेरै सुधार आइरहेको छ । मलाई लाग्छ, उनले गर्न नसक्ने भनेको केही पनि छैन । उनको खेलसँग जोडिएका तथ्यांक साँच्चै अविश्वसनीय छन् ।’ नर्वेका सहायक प्रशिक्षक केन्ट बेरेगेसेनले पनि भनेका छन्, ‘हालान्डको खेल शब्दले बयान गर्न सकिन्न ।’

इजरायलविरुद्ध हालान्डले अझ बढी गोल गर्न सक्थे तर उनी दुई अवसरमा पेनाल्टीमा चुके । आफ्नो देशका लागि सबैभन्दा चाँडै ५० गोल गर्ने खेलाडी सूचीमा डेनमार्कका पउल नेल्सन छन् । उनले यसका लागि ३६ खेल खेले । यस्तै पश्चिम जर्मनीका गर्ड मुलर र हंगेरीका फ्रेन्क पुस्कालसले ४१–४१ खेल खेले । यी ठूला नाम पछाडि अब हालान्डकै नाम जोडिएको छ र उनी पेलेको ठीक माथि छन् । 

एएफपी

Link copied successfully