दिल्पेश्वर क्रिकेट लिग : इन्द्रपुर, मष्टा, कोबिदा, म्यागनेट  र तिखा विजयी

मष्टा क्रिकेट क्लबका दीपक स्वाँर, कोबिदाका योगेश सुत्रा, म्याग्नेट बोइजका सन्तोष रावल, तिखा ‘ए’का सन्तोष खड्का र इन्द्रपुर इछालीका सुरेश साउँद सोमबारको खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

आश्विन २७, २०८२

मोहन पनेरु

Dilpeshwar Cricket League: Indrapur, Mashta, Kobida, Magnet and Tikha won

What you should know

डोटी — डोटीको दिपायलमा जारी दिल्पेश्वर क्रिकेट लिग सिजन–३ मा सोमबार पाँच खेल भएका छन् । जसमा इन्द्रपुर इछाली, कोबिदा धनगढी, म्याग्नेट बोइज दिपायल र तिखा ‘ए’ विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेल मष्टा क्रिकेट क्लब र तिलतालीबीच भएको थियो ।  मष्टाले पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा १ सय २५ रन बनाएको थियो । १ सय २६  रनको लक्ष्य पाएको लितताली ८ ओभरमा ८५ रनमै सीमित भयो । 

त्यस्तै आयोजक ‘बी’ र कोबिदा धनगढीबीचको खेल कोबिदाले जितेको थियो । टस जित्दै ब्याटिङ रोजेको आयोजकले   निर्धारित १२ ओभरमा ५० रन बनाएको   थियो । जवाफी ब्याटिङमा उत्रिएको कोबिदाका रवि कुँवरले ३५ रन र कृष ऐरले ११ रन बनाउँदै ८ ओभरमै जित हात पारेका थिए ।

यस्तै तिखा ‘बी’ र म्याग्नेट बोइज दिपायलबीचको तेस्रो खेलमा पहिले ब्याटिङ गरेको म्याग्नेट बोइजले १ सय ४९ रन बनाएको थियो । म्याग्नेटका सन्तोष रावल ६२, केशव चन्द २४, नरेश कठायत ३९ र लोकेश कठायतले १० रन बनाएका थिए । जवाफी ब्याटिङ गरेको तिखा ‘बी’ निर्धारित १२ ओभर खेल्दै ८७ रनमा समेटिएको थियो । म्याग्नेट बोइजले ६२ रनले जित हात पारेको थियो ।

यस्तै सोमबार भएको चौथो खेल तिखा ‘ए’ र एलजीबीपी लेगठाँटाबीच भएको थियो । जसमा तिखाले सहजै जित निकाल्यो । तिखाका सन्तोष खड्काले ६ छक्का ६ चौकाको मद्धतले ७३ रन बनाएका थिए । तिखाकै डबल ऐरीले ५ चौकाको मद्धतले ३१ रन बनाउँदै १ सय ५८ रनको लक्ष्य दिएको थियो ।

१ सय ५८ रन पन्छाउँदै जवाफी ब्याटिङ गरेको लेगठाँट ५७ रनमै समेटियो । लेगठाँटाका खगेन्द्र मलासीले ३ छक्का र १ चौकाको मद्धतले ३१ रन बनाए भने अरू कसैले पनि दोहोरो अंक जोड्न सकेनन् ।

यस्तै अन्तिम खेल इन्द्रपुर इछाली र बग्लेकबीच भएको थियो । टस जित्दै ब्याटिङ गरेको बग्लेकले १२ ओभर खेल्दै ४९ रनको लक्ष्य दिएको थियो । इन्द्रपुर इछालीका  सुरेश साउँदले ३ छक्का ३ चौकको मद्धतले ३६ रनको योगदान दिँदै टिमलाई विजयी बनाएका थिए ।

मष्टा क्रिकेट क्लबका दीपक स्वाँर, कोबिदाका योगेश सुत्रा, म्याग्नेट बोइजका सन्तोष रावल, तिखा ‘ए’ सन्तोष खड्का र इन्द्रपुर इछालीका सुरेश साउँद सोमबारको खेलका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

मोहन

Link copied successfully