ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४७ रन बनाएको हो ।
What you should know
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४७ रन बनाएको हो ।
कुशल भूर्तेल ६, आसिफ शेख ११ र कुशल मल्ल ८ रनमा आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ४४ बलमा ६२ रन जोडी नेपाललाई राम्रो स्कोरमा पुर्याएका थिए । तर त्यसपछि नेपालले ६ रनको अन्तरमा ४ विकेट गुमाएपछि नेपालले आफ्नो स्कोरलाई १ सय ४७ रनभन्दा माथि लान सकेन ।
१५ औं ओभरको अन्तिम बलमा दीपेन्द्र आउट भएपछि नेपालको विकेट झर्ने क्रम सुरु भएको थियो । दीपेन्द्रले २२ बल खेली १ चौकासहित २६ रन बनाए । यस विश्वकप छनोटमा पहिलो पटक मौका पाएका आदिल आलम अन्सारी ६ बलमा २ रनमात्र बनाई आउट भए ।
कप्तान रोहित पौडेलले ५८ रनको इनिङ्स खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पौडेलको यो आठौं अर्धशतक हो । रोहितले ४१ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा १ रनमै आउट भए । गुलशन झाले ८ बल खेली २ छक्का प्रहार गरी १६ र इनिङ्सको अन्तिम बलमा २ रन लिने प्रयासमा रनआउट भएका सोमपाल कामीले ९ बल खेली १ छक्कासहित १४ रन बनाए । नन्दन यादव २ बल खेली १ रनमा अविजित रहे ।
कतारका कप्तान मिर्जा बेग र डानियल आर्चरले ३–३ विकेट लिए । बेगले ४ ओभरमा २९ र आर्चरले ३ ओभरमा २२ रन खर्चे । नेपालले यो खेल जितेमा विश्वकपमा पुग्ने सम्भावना झनै बलियो हुनेछ । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो ।
