हिमा ५ को बाजागाडा बालचौर मैदानमा हुन लागेको गोल्डकप आगामी कात्तिक ४ गते सम्म चल्नेछ ।
जुम्ला — जुम्लाको हिमा गाउँपालिकामा यही असोज ३० गतेदेखि प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । युवाहरुप्रतिको फुटबल मोहलाई मध्यनजर गर्दै गोल्डकपको आयोजना गर्न लागिएको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित सुरु हुन लागेको गोल्डकप हिमा युवा एकता समाजको आयोजना र नेपाल अर्गानिक घरको सह आयोजनामा हुन लागेको हो । हिमा ५ को बाजागाडा बालचौर मैदानमा हुन लागेको गोल्डकप आगामी कात्तिक ४ गते सम्म चल्नेछ ।
‘असोज ३० गते बिहानसम्म टिम दर्ता गर्ने समय तोकिएको छ,’ अनाथ युवा क्लबका अध्यक्ष नरजीत शाहीले भने, ‘टिम दर्ताको समय सकिने बित्तिकै गोल्डकप सुरु हुने कार्यतालिका बनेको छ ।’
गोल्डकपमा बिजेता टिमले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उप विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने जिल्ला फुटबल संघ जुम्लाका प्रतिनिधिसमेत रहेका शाहीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पाँच सय रुपैयाँ, उच्च गोलकर्ता खेलाडीलाई गोल्डेन बुट, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोल रक्षकलाई गोल्डेन ग्लब्स, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको । यस्तै उदियमान खेलाडी पनि सम्मान दिइनेछ ।
